काठमाडौँ। भ्रष्टाचारविरोधी अभियान जेन–जी आन्दोलनले देश आमूल परिवर्तनको संघारमा छ । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीको प्रधानमन्त्रीत्वमा गठित सरकारले विभिन्न क्षेत्रका विज्ञहरुलाई सोही क्षेत्रको मन्त्रालयको नेतृत्व दिइरहँदा यतिबेला धेरै ठाउँमा विज्ञहरुको खोजी भइरहेको छ ।
कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्यालले विज्ञका रुपमा नेपाल सरकारमा क्रमशः ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय र गृह तथा कानून मन्त्रालय सम्हालिरहँदा पर्यटन क्षेत्रमा पनि त्यस्तै विज्ञको खोजी भइरहेको चर्चा यतिबेला शुशिला कार्की क्याबिनेटभित्र र बाहिर व्यापक रुपमा चलिरहेको छ ।
यस्तोमा एउटा उपयुक्त नाम हुन सक्छ, अच्युत गुरागाइँ । जो पछिल्लो ३० वर्षदेखि नेपाली पर्यटनको केन्द्रमा छन् । अंग्रेजी विषयमा स्नात्तकोत्तर गरेका उनी आधा दर्जन भाषामा दखल राख्छन् । नेपालमा सबैभन्दा धेरै पर्यटन आउने छिमेकी देश चीन र भारतीय पर्यटन विज्ञ तथा सरोकारवालासँग उनको दशकौदेखिको गहिरो चिनजान र दर्जनौ पर्यटनमैत्री कार्यक्रममा सहकार्यसहितको सम्बन्ध छ ।
नेपालको नयाँ पर्यटन नीतिमा उनी विज्ञ सदस्य तथा सल्लाहकारका रुपमा काम गरेका व्यक्ति हुन् । नेपाली पर्यटनको सबैभन्दा ठूलो र पूरानो संस्था ‘नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स’ (नाट्टा)का पूर्वअध्यक्ष गुरागाइँ आफैँमा पर्यटन अभियान्ता हुन् । उनी पछिल्लो समय नेपालमा फैलिरहेको पर्यटन अभियानमा पनि युवाका सबैभन्दा भरपर्दा र प्रेरणादायी अभियान्ता मानिन्छन् ।
नेपाललाई शान्तिभूमिका रुपमा चिनाउन र विश्वका विज्ञ व्यक्तिहरुलाई नेपाल बोलाएर लूम्बिनी भ्रमण गराउँदै अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्न गुरागाइँले ‘बुद्धिष्ट इन्टरनेश्नल ट्राभल मार्ट’ कार्यक्रम स्थापना गरे । जसले नेपालमा सयौँ देशका मानिसहरुलाई लूम्बिनी प्रवर्द्धन गर्न सहयोग गरेको छ ।
कोभिड महामारीको समयमा थला परेको नेपालको पर्यटनलाई जुरुक्कै उठाउन उनले नाट्टाको तत्कालीन समयको अध्यक्षका रुपमा नेतृत्व लिएर सातै प्रदेशको आन्तरिक पर्यटन चलायमान बनाएका थिए । उनकै प्रेरणा र सक्रियताले नाट्टा सातै प्रदेशमा गठन भएर युवाहरु नेतृत्वमा आएका छन् । गुरागाइँकै सक्रियता र प्रेरणाले नाट्टामा अहिले युवाहरु कुमारमणि थपलिया अध्यक्ष र युविका भण्डारी महासचिव छन् । जबकी होटल एशोसिएसन अफ नेपाल (हान) र ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल (टान)मा अहिले पनि युवाहरु नेतृत्वमा आउनै सकेका छैनन ।
गुरागाइँ नेपाल पर्यटन बोर्डभित्रको भ्रष्ट ब्युरोक्रेसीविरुद्ध हरेक वर्षजस्तो आन्दोलनमा हुन्छन् । बोर्ड नेतृत्वले मात्रै नभई भ्रष्ट कर्मचारीतन्त्रले गर्दा थला परेको भन्दै उनले विभिन्न समयमा दबाबमूलक कार्यक्रम चलाउँदै पनि आएका छन् । बोर्डका कर्मचारीले गर्दा पर्यटन बोर्डमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रवर्द्धन गर्ने युवाहरुलाई सहजीकरण गर्ने स्वयंम गुरागाइँले गर्दै आएका छन् ।
गुरागाईँ युवाहरुले सञ्चालन तथा स्थापना गरेको नेपाल टूरिजम फेस्टिभल (एनटीएफ), नेपाल इन्टरनेश्नल टूरिजम एक्पो (नाइट), एभरेष्ट सम्मिटर सम्मिट (इएसएस) कार्यक्रमका एक्ला संस्थापक सल्लाहकार हुन् । पर्यटनमा क्षेत्रमा केही नयाँ काम, कार्यक्रम र अभियान सञ्चालन गर्न खोजेका युवाहरुका लागि गुरागाइँ सबैभन्दा ठूला सारथी र प्रेरणाका स्रोत हुन् ।
उनकै कारण पश्चिम नेपालमा पहिलोपटक वेष्टर्न ट्राभल मार्ट सञ्चाल हुनेदेखि कैलाश मानसरोवरमा भारतीय पर्यटकका लागि दूरदर्शन कार्यक्रम सञ्चालन हुन पगेको छ । मधेसमा पहिलोपटक पर्यटन गतिविधि सञ्चालन भएर पर्यटकहरुको संख्या बढेको छ । पूर्व ताप्लेजुङदेखि पश्चिम नेपालको दार्चुलासम्मको पर्यटन चलायमान बनाउन युवाहरुलाई परिचालन गरेर उनले ‘नेपाल पर्यटन टूर ः ताप्लेजुङ दार्चुला बाइक टूर’ कार्यक्रम सञ्चालन गरेका छन् ।
काठमाडौँ, चितवन र पोखराको पर्यटन प्रवर्द्धन गर्न उनले ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ स्थापना गरेर सञ्चालन गर्न उनले नै फाउण्डेसनको काम गरेका थिए । पछिल्लो समय युवाहरुलाई प्रेरित गरेर उनी अन्तर्राष्ट्रिय भ्लगर्स तथा राइडरलाई नेपाल ल्याउन युवा अभियान्तालाई निरन्तर प्ररित गरिरहेका छन् ।
सँधै युवाहरुकै साथमा रहन रुचाउने गुरागाइँ पर्यटनमा युवाहरुलाई भित्र्याउन निरन्तर सक्रिय भइरहेका छन् । राजनीतिक रुपमा स्वतन्त्र विचारधारा रुचाउने उनी पर्यटनका हरेक निकायमा युवाहरुको सक्रियता चाहन्छन् । युवाहरुले जोखिम उठाएर काम गर्न सके मात्रै देशले मुहार फेर्ने उनको विश्वास छ ।
जेन–जी आन्दोलनले गर्दा देश आमूल परिवर्तनको दिशामा अगाडि बढेको भन्दै उनले अब विषय विज्ञहरुले नेतृत्व लिएर देशका हरेक क्षेत्र तथा निकायहरुलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने उनको धारणा छ । नेपालसहित झण्डै ६० देशको भ्रमण गरिसकेका उनी अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा पोख्त छन् ।
पूर्वी नेपालको इलामदेखि पश्चिम नेपालको कञ्चनपुरसम्मका पर्यटन अभियाहरुमा हिँडेका उनी नेपालको पर्यटन, उड्यन क्षेत्र र संस्कृति मन्त्रालयको नेतृत्व गर्न सबैभन्दा सक्षम व्यक्ति हुन् । नेपालको पर्यटनमा ठूलो जिम्मेवारी बोकेका नेपाल पर्यटन बोर्ड, नाथम, नेपाल वायु सेवा निगम र नागरिक उड्यन प्राधिकरणलाई पुनःसंरचना गरेर मात्रै युवाहरुलाई नेतृत्व दिनुपर्ने माग पनि उनले बेला बेला उठाउँदै आएका छन् ।
स्वतन्त्र तथा विज्ञहरुको सरकारका रुपमा परिचित अहिलेको जेन–जी आन्दोलनको म्यान्डेडमा गठित अन्तरिम सरकारमा गुरागाइँ नेपालको पर्यटन क्षेत्र हाँक्न सक्ने सक्षम र उपयुक्त व्यक्ति हुन् ।