सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य मजबुत बनाउनु नै विकास र समृद्धितर्फको मार्ग सहज बनाउने आधार भएको बताएका छन्।
उनले समन्वय सुदृढ भए मात्र संघीयताको वास्तविक लक्ष्य हासिल हुने बताए। आज कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद्को तेस्रो बैठकमा बोल्दै कँडेलले भने, “नीति र योजना संघ र प्रदेशले बनाउला, तर कार्यान्वयनको मुख्य जिम्मेवारी स्थानीय तहमा रहेको छ।”
मुख्यमन्त्री कँडेलले कर्मचारी प्रशासनतर्फ पनि ध्यानाकर्षण गर्दै केवल समस्या देखाउनु पर्याप्त नभई समाधानका व्यावहारिक उपाय सुझाउने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।
“समस्या देखाउन सजिलो छ, तर समाधानका लागि व्यवहारिक उपाय सुझाउनु अझ महत्वपूर्ण हुन्छ,” उनले भने। साथै उनले सबैलाई नियम, विधि र कानुनको पालना गर्नुपर्ने जिम्मेवारी रहेको पनि स्मरण गराए।