समाचार

कांग्रेस नेता कुटपिट गर्ने युवा संघ जिल्ला इञ्चार्ज पक्राउ

१४ माघ २०७८, शुक्रबार ०२:४३
कांग्रेस नेता कुटपिट गर्ने युवा संघ जिल्ला इञ्चार्ज पक्राउ

१४ माघ, काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका धादिङ जिल्ला इञ्चार्ज दीपक खतिवडा पक्राउ परेका छन् ।

गजुरी गाउँपालिका, किरान्चोकका स्थानीय नानीराम पराजुलीमाथि कुटपिटको अभियोगमा बिहीबार प्रहरीले उनलाई पक्राउ गरेको हो । एमाले पृष्ठभूमिका पराजुली केही समयअघि मात्रै दल बदलेर कांग्रेस प्रवेश गरेका थिए ।

उनी हाल गजुरी गाउँपालिका, कांग्रेस कमिटीको सह–सचिव छन् । पार्टी परिवर्तनपछि निरन्तर धम्की दिइँदै आएकोमा अहिले त्यसैको रिस फेर्न कुटपिट गरिएको पीडितको आरोप छ । खतिवडाविरुद्ध कुटपिटको उजुरी परेपछि छानबिनका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालय, गजुरीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्