समाचार

सुनचाँदी व्यवसायीहरूको कर विरोधमा पसल बन्द, राजधानीमा विरोध र्‍याली

२० असार २०८२, शुक्रबार १३:०४
सुनचाँदी व्यवसायीहरूको कर विरोधमा पसल बन्द, राजधानीमा विरोध र्‍याली

काठमाडौँ। सुनचाँदी व्यवसायीहरूले सरकारले लगाएको नयाँ करप्रति आपत्ति जनाउँदै व्यवसायीहरू शुक्रबार राजधानीको सडकमा उत्रिएका छन्।

नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको अगुवाइमा माईतीघर मण्डलदेखि सुरु भएको विरोध र्‍याली नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको हो।

व्यवसायीहरूले आफ्ना पसल बन्द गर्दै विरोध प्रदर्शनमा सहभागिता जनाएका छन्। आन्दोलनमा कालिगढ, श्रमिकलगायत गहना उद्योगसँग सम्बन्धित सबै तहका व्यक्तिहरूको उपस्थिति देखिएको छ।

उनीहरूको मुख्य माग भनेको आगामी आर्थिक वर्षको बजेटमा सुनचाँदीलाई लक्षित गर्दै लगाइएको २ प्रतिशत विलासिता कर र रत्न तथा पत्थरमा लगाइएको १३ प्रतिशत कर खारेज गर्नु हो। व्यवसायीहरूका अनुसार यसले उनीहरूको व्यापारमा प्रत्यक्ष रूपमा नकारात्मक असर पार्नेछ।

करले व्यवसाय धराशायी हुने खतरा बढेको भन्दै उनीहरूले तत्काल कर फिर्ता लिन सरकारसँग माग गरेका छन्। माग सम्बोधन नभए थप कठोर आन्दोलनको चेतावनी पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्