काठमाडौं । एनसेलका प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले कम्पनीको आम्दानी घटिरहेको र अत्यधिक ट्याक्स तथा स्पेक्ट्रम फीका कारण नेपालमा फाइभजी प्रविधि तत्काल ल्याउन नसकिने बताएका छन्।
एनसेलद्वारा बिहीबार आयोजित ‘बिल्डिङ सस्टेनाबिलिटी : डिजिटल टुमरो’ कार्यक्रममा बोल्दै उनले सरकारको उच्च कर संरचना, कस्टम ड्युटी र स्पेक्ट्रम शुल्कका कारण फाइभजी ल्याउन ठूलो आर्थिक बोझ पर्ने उल्लेख गरे।
उनका अनुसार काठमाडौं र ललितपुरमा मात्र फाइभजी ल्याउन १५.५ अर्ब रुपैयाँ खर्च लाग्नेछ भने देशभर विस्तार गर्न ६४.५ अर्ब रुपैयाँ आवश्यक पर्छ।
कायुमोभले सरकारसँग नीति र कर सम्बन्धी सहयोग माग गर्दै फाइभजी सम्भव भए पनि तत्कालको लागि व्यवहारिक नरहेको बताए।
एनसेलले अबको दिनमा नयाँ बिजनेस मोडेल, सब्सक्रिप्सन आधारित योजना ल्याउने तयारी गरेको छ। साथै कम्पनीले सन् २०२५ भित्र थ्रीजी र दुई वर्षभित्र टूजी नेटवर्क बन्द गर्ने योजना बनाएको पनि जानकारी गराएको छ।