समाचार

मन्त्री रेणु यादवलाई पदबाट तत्काल बर्खास्त गर्ने

१३ माघ २०७८, बिहीबार १४:४५
मन्त्री रेणु यादवलाई पदबाट तत्काल बर्खास्त गर्ने

१३ माघ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको चौतर्फी आलोचना हुन थालेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतलाई खुलेआम ज्यान मार्ने धम्की दिएपछि जसपाको नेतृ समेत रहेकी मन्त्री यादवको सर्वत्र आलोचना हुन थालेको हो ।

उनको अभिव्यक्तिबारे प्रधानमन्त्री शेरबहादुर देउवाले समेत चासो लिएको बुझिएको छ । रेणुले राजीनामा नदिए बर्खास्त गर्ने सम्मबारे बालुवाटारमा छलफल भएको विश्वस्त स्रोतले जनाएको छ ।

रेणुको पद जोगाउन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लागेका छन् । तर, यादवको भूमिका प्रति डा. बाबुराम भट्टराई पक्षधर नेताहरु मात्र नभई महेन्द्र राय यादवलगायतका नेताहरु पनि असन्तुष्ट रहेको बुझिएको छ ।

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गौर नरसंहार दोहोराउने अभिव्यक्ति दिने यादवलाई पदमा रहने नैतिक अधिकार नभएको बताइसकेका छन् । त्यस्तै जनमत पार्टीले समेत रेणु यादवलाई मन्त्री पदबाट तत्काल बर्खास्त गरि गौर हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न माग गरेको छ ।

बहालवाला मन्त्रीले नरसंहार मच्चाउने र एउटा पार्टीको अध्यक्षको हत्या गर्ने खुलेआम धम्की दिनु सामान्य घटना होइन । माघ ५  गते गौरको एक कार्यक्रममा पुगेकी मन्त्री यादवलाई किसान आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले कालोझण्डा देखाएका थिए । कालोझण्डा देखाएको आक्रोस थाम्न नसकेकी मन्त्री यादवले हिसांत्मक अभिव्यक्ति दिएकी हुन् ।

उक्त हिंसात्मक अभिव्यक्तिपछि उनको मन्त्री पद धरापमा परेको छ । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उनको अभिव्यक्तिप्रति गम्भीरता देखाइसकेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि चासो लिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्