समाचार

सामूहिक बलात्कारका नौ अभियुक्त जेल चलान

१३ माघ २०७८, बिहीबार ०३:३६
सामूहिक बलात्कारका नौ अभियुक्त जेल चलान

१३ माघ, काठमाडौं। गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रका होटलमा एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका ९ जनालाई पूर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

गत पुस १२ गते गाेंगबु इलाकाको मित्रनगरस्थित विभिन्न होटलमा लगेर नौजनाले एक महिलालाई बलात्कार गरेका थिए । जिल्ला अदालतमा भएको थुनछेक बहसपछि सबै अभियुक्तलाई पुपक्र्षका लागि थुनामा पठाउन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतको आदेशबाट नौजना अभियुक्तलाई नै पुर्पक्षका लागि कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौंमा पठाइएको हो ।

पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका– १० झाकोट घर भएका २३ वर्षीय हिक्मत नेपाली, सोही ठाउँका २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बढुवाल, २६ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका– ६ लिउडीका २१ वर्षीय सुरेश सेज्वाल, छायानाथ रारा नगरपालिका–११ का २४ वर्षीय चन्द्र साउद र अर्घाखाँचीको सितगंगा नगरपालिका–१२ का ४३ वर्षीय गोपालकुमार शिरिष छन्।

गत १२ र १३ पुसमा नयाँ बसपार्कमा सुर्खेतबाट काठमाडौं आएकी एक महिलालाई १६ घन्टासम्म नियन्त्रणमा राखेर नौजनाले सामूहिक बलात्कार गरेका थिए । प्रहरीले सिसिक्यामेराको सहयोगमा घटनाको २४ घन्टाभित्रै आरोपीलाई पक्राउ गरेको थियो ।

महिलामाथि तीनवटा होटेलमा सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । पहिलो होटेलमा ६ जनाबाट, दोस्रोमा दुई र तेस्रोमा एकजनाबाट बलात्कार भएको थियो ।  पीडित महिला घटनाकै दिन सुर्खेतबाट काठमाडौं आएकी थिइन् । सहयोग गर्ने आश्वासनमा आफूलाई होटेलमा लगेर बलात्कार गरिएको पीडितको भनाइ छ । उनीहरूमध्ये सबैजसो वैदेशिक रोजगारको प्रक्रियाका लागि नयाँ बसपार्कका गेस्टहाउसमा बसेका थिए । सबैजना कारागार चलान भएका छन् ।

प्रतिक्रिया दिनुहोस्