समाचार

हरिनास गाउँपालिकामा नेतृत्वको अनुपस्थितिले प्रशासनिक काम ठप्प

२८ जेष्ठ २०८२, बुधबार १३:५५
हरिनास गाउँपालिकामा नेतृत्वको अनुपस्थितिले प्रशासनिक काम ठप्प

स्याङ्जा, हरिनास। स्याङ्जा जिल्लाको हरिनास गाउँपालिकामा उपाध्यक्ष इन्द्र कुमारी थापा मगर करिब दुई महिनादेखि कार्यालयमा अनुपस्थित रहँदा गाउँपालिकाको प्रशासनिक कार्यसम्पादन प्रभावित भएको छ ।

स्थानीयबासी र कर्मचारीहरूका अनुसार उपाध्यक्षको लामो अनुपस्थितिले योजना स्वीकृति, फाइल प्रक्रिया, निर्णयमा आवश्यक हस्ताक्षर, सिफारिस जस्ता काम ठप्प छन्।

“हामी बारम्बार कार्यालय धाएर फर्कनुपरेको छ,” एक स्थानीय नागरिकले गुनासो गर्दै भने, “अब त घरमै खोज्न जानुपर्ने अवस्था आएको छ।” जनप्रतिनिधि नै कार्यालयमा नदेखिने स्थिति भएपछि सेवाग्राहीहरू अन्योलमा परेका छन्।

गाउँपालिका अध्यक्षले उपाध्यक्षको अनुपस्थितिका कारण केही काम ढिलो भएको स्वीकार गर्दै छिट्टै स्पष्टिकरण आउने बताएका छन्। तर अहिलेसम्म उपाध्यक्षको अनुपस्थितिको आधिकारिक कारण सार्वजनिक गरिएको छैन।

यसबाहेक, गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत शिव कुमार पौडेलसमेत क्वार्टरमै बस्ने गरे पनि नियमित रूपमा कार्यालय नगएको गुनासो बढ्दो छ। यस्तो अवस्थामा गाउँपालिकाको दैनिक प्रशासनिक कार्य ठप्प भएको स्थानीयहरूको भनाइ छ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको लामो अनुपस्थिति, प्रमुख प्रशासकीय अधिकृतको कार्यलय प्रतिको बेवास्ता, र जवाफदेहिताको अभावले शासकीय प्रणालीप्रति गम्भीर प्रश्न उठ्न थालेको छ। सेवा प्रवाहमा देखिएको यो शिथिलता तत्काल सम्बोधन नगरे प्रशासनप्रति नागरिकको विश्वास खस्कन सक्ने चिन्ता बढेको छ।

प्रतिक्रिया दिनुहोस्