समाचार

राष्ट्रियसभा निर्वाचनमा विजयी भएका १९ सदस्यको नामावली सार्वजनिक

१३ माघ २०७८, बिहीबार ०३:०७
राष्ट्रियसभा निर्वाचनमा विजयी भएका १९ सदस्यको नामावली सार्वजनिक

१३ माघ, काठमाडौं। निर्वाचन आयोगले बुधबार भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ ।

१९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन्। प्रदेश एकमा भने एक सिटमा एमाले उम्मेदवार विजयी भएका हुन्।

प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भएका छन् । अपांगता वा अल्पसंख्यकतर्फको सो पदमा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका हुन् ।

राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए।

कर्णालीबाट राष्ट्रिय सभामा गठबन्धनका तीनजनै उम्मेदवार विजयी भएका छन् । उनीहरुले एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् । निर्वाचनमा अन्यतर्फ उदय बोहोरा (एकीकृत समाजवादी), अपांगरआदिवासीतर्फ नरबहादुर विष्ट (माओवादी केन्द्र) र महिलातर्फ दुर्गाकुमारी गुरुङ (कांग्रेस) निर्वाचित भएका हुन् ।

गण्डकीबाट गठबन्धनका ३ जनै उम्मेदवार विजयी भएका छन् । महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन् ।

लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भए । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरे र जनमोर्चाको तर्फबाट दलित उम्मेदवार तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका हुन् ।

त्यस्तै सुदूरपश्चिममा पनि गठबन्धनका उम्मेदवार विजयी भए । सुदूरपश्चिमबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार विजयी भए ।

महिलातर्फ नेकपा (एकीकृत समाजवादी) मदन कुमारी शाह (गरिमा), दलिततर्फ एकीकृत माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्