काठमाडौँ। ललितपुर महानगरपालिकाले आफ्ना स्थानीय बासिन्दालाई लक्षित गर्दै कोडिङसम्बन्धी आठ महिनाको निःशुल्क तालिम दिने भएको छ ।
महानगरले “लो लेवल कोडीङ–वेबमा आधारित सफ्टवेयर” विषयमा तालिम प्रदान गर्न भक्तपुरको चाँगुनारायण फाउन्डेसनसँग सहकार्य गरेको जनाएको छ । तालिमले नगरवासीलाई स्वदेशमै रोजगार तथा स्वरोजगारको अवसर दिन सहयोग पुग्ने महानगरको विश्वास छ ।
तालिममा सहभागी हुन चाहने ललितपुरका स्थानीय बासिन्दाले २५ जेठभित्र अनलाइन आवेदन दिनुपर्नेछ । आवेदक कम्तीमा १८ वर्ष उमेर पूरा भई कक्षा १२ उत्तीर्ण हुनुपर्छ ।
आवेदन दिनका लागि आवश्यक कागजातहरूमा नागरिकताको प्रतिलिपि, कक्षा १२ उत्तीर्ण प्रमाणपत्र वा ट्रान्सक्रिप्ट, ललितपुरमा स्थायी बासोबास प्रमाणित गर्ने कागजात (बसाइँसराई वा विवाह दर्ता प्रमाणपत्र), र पासपोर्ट साइजको फोटो समावेश गर्नुपर्नेछ ।
महानगरले अन्तर्वार्ता मार्फत १५ जनालाई छनोट गरेर तालिममा सहभागी गराउनेछ । इच्छुकले अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।