मनोरञ्जन

‘अञ्जिला’को युके प्रदर्शनमा एञ्जिला सहभागी नहुने, दर्शकसँग मागिन् माफी

११ जेष्ठ २०८२, शनिबार १७:०९
‘अञ्जिला’को युके प्रदर्शनमा एञ्जिला सहभागी नहुने, दर्शकसँग मागिन् माफी

काठमाडौं। नेपालमा ११औँ हप्तामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘अञ्जिला’की मुख्य पात्र तथा नेपाली महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको युके भ्रमण अन्तिम समयमा रोकिएको छ ।

चलचित्र ‘अञ्जिला’को शनिवार युकेको अल्डरसटमा हुने प्रदर्शनका लागि एञ्जिलाको उपस्थिति निश्चित भएता पनि अन्तर्राष्ट्रिय खेलको कारण भ्रमण रोकिएको आयोजक न्यु होराइजन क्रिएशन लिमिटेड, युकेले जनाएको छ ।

यसबारेमा एञ्जिला आफैँले पनि एक भिडियो सन्देश जारी गर्दै आफ्नो पहिलो प्राथमिकता फुटबल नै रहेको बताएकी छन् । उनले आफू आउने भनेर उत्साहमा रहेका दर्शकसँग माफी माग्दै खेलको कारण चलचित्रको प्रदर्शनमा आउन नपाएको जानकारी गराएकी छन् । भ्रमण रोकिएसँगै युकेस्थित दर्शक तथा शुभेच्छुकहरूमाझ उत्पन्न जिज्ञासा र असन्तुष्टिलाई सम्बोधन गर्दै राष्ट्रिय जिम्मेवारीका कारण भ्रमण स्थगित गरिएको आयोजक संस्थाले एक विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, “अञ्जिला तुम्बापो सुब्बालाई आगामी थाइल्यान्ड र अन्य देशमा हुने अन्तर्राष्ट्रिय खेलका लागि टोलीको नेतृत्व गर्न, तयारी गराउन, प्रेस कन्फ्रेन्समा सहभागी हुन, बैठकहरूमा उपस्थित हुन र अन्य आधिकारिक प्रक्रिया पूरा गर्न लगायत अग्रिम रूपमा टोलीमा फर्कन बोलाइएको हो । राष्ट्रिय टोलीकी प्रमुख गोलकिपर समेत भएकाले, टिमका अन्य खेलाडीको तुलनामा उनको जिम्मेवारी र आवश्यकता अधिक छ । त्यसैले उनलाई समयमै टोलीमा फर्कन अपरिहार्य भयो ।”

यो चलचित्र एञ्जिलाको वास्तविक जीवनमा आधारित छ । उनको जीवनसंघर्ष र सफलतालाई पर्दामा उतारेको यस चलचित्रले दर्शकहरूबाट उल्लेख्य माया पाइरहेको छ । ‘अञ्जिला’का निर्देशक मिलन चाम्स हुन् भने यसलाई प्रेमकुमार श्रेष्ठले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्