समाचार

आज सार्वजनिक हुँदै जनगणनाको प्रारम्भिक नतिजा

१२ माघ २०७८, बुधबार ०३:२०
आज सार्वजनिक हुँदै जनगणनाको प्रारम्भिक नतिजा

काठमाडौं : केन्द्रीय तथ्यांक विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्ने भएको छ।

राष्ट्रिय योजना आयोगको कार्यालयमार्फत बिहान सवा १० बजे भर्चुअल पत्रकार सम्मेलन गरी प्रारम्भिक नजिता सार्वजनिक गर्ने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए।

नेपालको राष्ट्रिय जनगणना-२०७८’ को प्रारम्भिक नतिजामा अन्य लिङ्गीहरू नसमेटिने अधिकारीहरूले बताएका छन्। विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार तत्काल लिङ्गको आधारमा महिला र पुरुषको मात्र सङ्ख्या सार्वजनिक गरिनेछ।

विभागका अनुसार आज गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागिएको हो। प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको जनसंख्या सार्वजनिक गरिनेछ।

यसै वर्षको भदौ ३० गतेदेखि असोज १८ सम्म भएको घर तथा घर-परिवार सूचीकरण र तथ्याङ्क सङ्कलनमा महिला र पुरुषबाहेक अन्य लैङ्गिक र यौनिक पहिचान भएकाहरूलाई समावेश गरिएको थियो।

तर कार्तिक २५ गतेदेखि मङ्सिर ९ सम्म मुख्य गणकहरूले घरघरमा गई हरेक परिवारको विस्तृत विवरण सङ्कलन गर्दा लैङ्गिक विवरणको खण्डमा उत्तरको दुईवटा विकल्प – महिला र पुरुष मात्र समावेश गरियो। पहिलो चरणमा सङ्कलित तथ्याङ्कका आधारमा छिट्टै अन्य लिङ्गीको विवरण सार्वजनिक गर्छौँ,” रेग्मीले भने।

छ महिनाभित्र जनगणनाको अन्तिम नतिजा प्रकाशन गर्ने योजना रहे पनि कोरोनाभाइरस महामारीका कारण केही प्रक्रिया ढिला हुने जानकारी रेग्मीले दिए। महामारी लम्बिएन भने करिब आठदेखि नौ महिनामा विस्तृत नतिजा सार्वजनिक हुन्छ होला र अन्तिम नतिजाको लागि अझै बढी समय लाग्छ,” उनले बताए।

प्रतिक्रिया दिनुहोस्