काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल सरकारको विभेदको कारण हुलाकी राजमार्गको निर्माण कार्य अलपत्र अवस्थामा रहेको बताएका छन् ।
सरकारको सम्प्रदायिक सोचका कारण आज हुलाकी राजमार्गको निर्माण कार्य सम्पन्न नभएको समेत उनले बताए । प्रतिनिधि सभाको आज (मंगलबार) बसेको बैठकको विशेष समयमा बोल्दै उनले अरु सडक र राजमार्गमा सरकारले बजेटको सुनिश्चितता गर्दैगर्दा हुलाकी सडकमा बजेटको सुनिश्चितता गर्दै त्यसलाई सम्पन्न किन नगरेको भन्दै उनले सरकारसंग जवाफ माग गरेका छन् ।
‘सम्मानिय सभामुख महोदय, नेपाल सरकारको विभेदको कारण हुलाकी सडकको निर्माण कार्य अलपत्र छ । म सरकारलाई सोध्न चाहन्छु, के हुलाकी सडक निर्माण भईसक्यो ? की निर्माण भएको छैन् भने बाँकी कार्य ठेक्का प्रक्रियामा छ ? आज दुखका साथ भन्नु पर्छ हुलाकी सडकका कयौं खण्डहरु बाँकी नै छ,’ आजपा अध्यक्ष साहले भने ।
सयौं पुलहरु निर्माण गर्न अझै बाँकी नै रहेको बताउदै उनले हुलाकी सडकको कयौंखण्ड निर्माण कार्य नहुँदा पूर्व मेचिदेखी पश्चिम महाकालीसम्मका जनताले ओहरदोहर गर्नबाट बञ्चित भएको बताए । झण्डै एक हजार भन्दा लामो सो सडक खण्डको आठ सय किलोमिटर मात्रै निर्माण भएको छ ।
‘सर्लाहीको गोड्ैतादेखी बाराको हरनैया भन्ने ठाउँसम्मको सडक बाँकी नै छ । पर्साको ठोरीदेखी त्रिवेणीसम्मको सडक अलपत्र नै छ । सिंगै कपिलबस्तु, दांग, बाँकेको सडकखण्ड बाँकी नै छ । यि तमाम सडक खण्डहरु अलपत्र छोडेर कस्तो हुलाकी राजमार्गको परिकल्पना गरिएको हो ?,’ आजपा अध्यक्ष साहले भने, ‘म सोध्न चाहन्छु, के हुलाकी राजमार्ग भएर मेचिमहाकाली कहिले हिड्न पाउँने हो ? मेचीमहाकालीका जनताले हुलाकी सडक भएर हिड्ने सपना कहिले पुरा हुन्छ ?’
सरकारले बिभिन्न सडकको ठेक्का प्रक्रिया अगाडी बढाएको र बजेटको सुनिश्चितता गरेको तर हुलाकी राजमार्गको निर्माण कार्य सम्पन्न गर्न सरकारले व्यवस्ता गरेको उनले बताए ।
‘अहिले देशका बिभिन्न सडकको निर्माण कार्यका लागि अर्थमन्त्रीजीले बजेटको सुनिश्चितता गर्नुभएको छ । झण्डै ५० अर्बको बजेट सुनिश्चितता अर्थमन्त्रीले गर्नुभयो, तर दुर्भाग्य त्यसमा हुलाकी सडक पर्दैन् । दुखका साथ भन्नु पर्छ नेपालको सबभन्दा बढी जनसंख्याले लाभ लिनुपर्ने हुलाकी सडक जो सबैभन्दा पुरानो सडक हो ।
राष्ट्रिय गौरबको महत्वपूर्ण आयोजना हो । त्यसमा यसरी किन विभेद गर्नुहुन्छ भनेर म सरकारसंग सोध्न चाहन्छु,’ आजपा अध्यक्ष सरकारसंग प्रश्न गर्दै भने, ‘के दुई तिहाईको सरकार न्याय गर्नका लागि हो की विभेद गर्नका लागि हो ? के नेपाली कांग्रेस र एमाले भन्ने पार्टी तराईमा छ की छैन् ? उनीहरु हुलाकी बाटोमा हिड्छन की हिड्दैनन् ? यदी हिड्छन् भने ति पार्टीका सांसद र नेतालाई सोध्न चाहन्छु अहिले तपाईले महेन्द्रराजमार्गको १५ अर्बको बजेटको सुनिश्चितता दिइरहदा, मदन भण्डारी रोडमा १०अर्ब बजेटको बहुबर्षिय बजेट दिईरहदा, विपी राजमार्गमा १० अर्बको बजेट सुनिश्चितता गर्दैगर्दा मध्य पहाडी लोकमार्गमा ८ अर्बको ठेक्का गर्दैगर्दा हुलाकी किन बिर्षिनुभो ?’
दर्जनौ सडकमा अर्थमन्त्रीले ५०औं अर्बको बजेट सुनिश्चितता गरे पनि त्यसमा अलपत्र रहेको हुलाकी राजमार्ग नपर्नुले दुई तिहाईको शक्तिशाली सरकारले तराईका जनतासंग विभेद गरेको उनले बताए । उनले प्रश्न गरे, ‘के हुलाकी नेपालमा पर्दैन् ? त्यहाँका जनतासंग यसरी विभेद किन गर्नुहुन्छ ? के हुलाकी बनाउनुपर्ने नै छैन् ? छ भने मलाई बताउँनुस् हुलाकी सडकमा मान्छे कहिले हिडन् पाउँछन् ? अहिले पनि बिराटनगरको मान्छे वीरगंज आउँनुपर्यो भने हुलाकी छोडेर हिड्नुपर्ने हुन्छ ।
राजविराजको मान्छे जनकपुर आउँन सक्दैन्, जनकपुरको मान्छे वीरगंज आउँन सक्दैन्, वीरगंजको मान्छे त्रिवेणी जानसक्दैन भने यो हुलाकी सडकमा यसरी पैसा किन खेर गर्नुभयो । अहिलेसम्म ६५ अर्ब लगानी भयो तर जम्मा १०/१२ अर्बका लागि त्यो सडकलाई अलपत्र पार्न मिल्छ ?’