काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले आफैले लिएको परिक्षामा फेल भएका प्रधानमन्त्री केपी शर्मा ओलीले १०औं महिनासम्म सुशासन दिन असफल भएपछि आज आफ्नै नेतृत्वमा सुशासन आयोग गठन गर्नु हास्यास्पद रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै सांसद साहले सुशासन आयोगको औचित्य के हो भन्दै प्रधानमन्त्री ओलीसंग उनले प्रश्न गरे । के सरकारी संयन्त्रमाथि प्रधानमन्त्रीको विश्वास नभएको हो भन्दै उनले प्रश्न गरे ।
‘म सोध्न चाहन्छु सुशासन आयोगको औचित्य के हो ? सुशासन आयोग किन ? के हाम्रो सरकारी संयन्त्रहरु फेल भईसक्यो ? के हाम्रा सरकारी संयन्त्रमाथि प्रधानमन्त्रीको विश्वास छैन् ?,’ प्रधानमन्त्री ओलीसंग प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘प्रधानमन्त्रीजीको नेतृत्वमा ५१ वटा निकाय छ । त्यो निकायहरुले के काम गर्यो हामी जान्न चाहन्छौं । नेपाली जनता जान्न चाहन्छ । यदी हाम्रा सरकारी संयन्त्रमाथि विश्वास छैन भने त्यसलाई किन राख्ने ?’
प्रधानमन्त्री ओली सहितका मन्त्रीले अहिलेसम्म सम्पती विवरण सार्वजनिक नगरेको भन्दै उनले सुशासनकै बदनाम गरिएको टिप्पणी गरे । सुशासन भन्ने तर सुशासनको कामै नगर्ने प्रधानमन्त्रीको नेतृत्वमा सुशासन आयोग गठन गर्नु हास्यास्पद भएको टिप्पणी उनले गरे ।
‘आज हामी हेरिरहेका छौं, प्रधानमन्त्री जसले आफ्नो सम्पती विवरण सार्वजनिक गर्दैनन् । पटक पटक माग हुँदा पनि सम्पती विवरण सार्वजनिक गर्दैनन् । उहाँकै नेतृत्वमा सुशासन आयोग,’ आजपा अध्यक्ष साहले भने ।
प्रधानमन्त्रीको नियन्त्रणमा कर्मचारी नभएको समेत उनले टिप्पणी गरे । आफू मातहतका कर्मचारी नै आफ्नो नियन्त्रणमा नहुने प्रधानमन्त्रीले सुशासनको कुरा गर्न नसुहाउने उनले बताए ।
‘जो प्रधानमन्त्रीको कन्ट्रोलमा कर्मचारी छैन् । सरकारी कर्मचारी आज सडकमा तमासा गरिरहेको छ । हस्पिटलमा हुनुपर्ने डाक्टर आज आन्दोलनमा छ । स्कुलमा पढाउनुपर्ने शिक्षक आज सडकमा छ । निजामती कर्मचारी सबै संघर्षमै छ । यस्तो कर्मचारीलाई कन्ट्रोलमै राख्न नसक्ने प्रधानमन्त्रीले सुशासनको कुरा गर्ने ? कसरी पत्याउने सभामुख ज्यू ?,’ आजपा अध्यक्ष साहले भने, ‘आज हामी हेरिरहेका छौं प्रधानमन्त्रीकै पार्टी एमालेले सडकमा तमासा गरिरहेको छ । प्रधानमन्त्रीज्यूले कानून मान्नू हुन्न । ठाउँ ठाउँमा कानून विपरित दलिय संयन्त्रको अभ्यास गर्नुहुन्छ । यस्तो अवस्थामा सुशासन आयोगको औचित्य के हुन्छ म सोध्न चाहन्छु ।
प्रधानमन्त्रीले जनताको प्रश्नको जवाफ नदिएको भन्दै उनले प्रधानमन्त्रीबाट सुशासनको कुरा हुनु नसुहाउने उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीजीले अख्तियारको कानून आफै रोकेर राख्ने र सुशासन आयोगको नेतृत्व गर्ने हामीले कसरी पत्याउने सभामुखज्यू ? हिजो राजतन्त्रमा पनि शाही आयोग गठन भएको हामीले सुन्थ्यौं ।
त्यसको आफ्नै टार्गेट थियो । अहिलेको आयोगको औचित्य के छ ? उहाँ (ओली)ले आयोग बनाईसकेपछि त्यो आयोगले के निर्णय गर्छ भन्ने प्रश्न आउँछ । त्यो निर्णय कसरी कार्यान्वयन हुन्छ भन्ने प्रश्न आउँछ । यसको सपोर्टमा कानून नभएपछि कानूनी औचित्यविहिन आयोगको के भनेर प्रश्न आउँछ । जनतालाई झुक्याउने, जनतालाई ठग्ने, फेरी गुमराह बनाउने खेल स्वीकार्य छैन्, हामीलाई स्वीकार्य छैन् ।’
प्रधानमन्त्री ओलीले सुशासन आयोगको नेतृत्व गर्न असक्षम रहेको समेत साहले बताए । ‘उहाँ (ओली)कै मन्त्रीले राजीनामा दिन बाध्य हुन्छ । उहाँकै मातहतका उपकुलपति राजीनामा दिन बाध्य हुन्छ । उहाँकै निकाय आज आन्दोलनमा छ । विश्वास छैन्, उहाँले कसरी सुशासनको नेतृत्व गर्नुहुन्छ भन्ने प्रश्न आउँछ । यसरी दुनियालाई ढाटने काम बन्द गर्नुस्,’ साहले भने ।
७ बुँदे सहमती हुँदा सुशासन, समृद्धि, विकास, रोजगारी के–के दिन्छौ भन्ने आफूहरुले सुनेको उनले बताए । आजपा अध्यक्ष साहले भने, ‘अब १० महिना भईसक्यो, विकास कति अगाडी बढयो । तपाईले भनेको सुशासन कहाँ पुग्यो भनेर प्रश्न गर्न चाहन्छु ? तपाई आफैले कार्यसम्पादन मुल्यांकन गर्नुभयो, आफै फेल हुनुभयो । तपाईको बहुमत मन्त्रीहरु फेल भयो यसको नैतिक जवाफ देही हुने की नहुने भन्ने प्रश्न आउँछ । यदी थोरै पनि लाजलेहाज भएको भए यसको जिम्मेवारी लिएर आफू उभिनसक्नुपथ्र्यो ।’
उनले सुशासन र काम गर्न नसकेपछि के गर्ने भन्ने सवाल हालै राजीनामा दिएकी विद्या भट्टराईसँग सिक्न समेत सुझाव दिए । उनले भने, ‘विद्या भट्टराईले आफूले गर्न नसकेपछि जिम्मेवारी छाड्नु भयो, तपाईं (ओली) पनि त्यसै गर्नुस् । त्यसरी प्रधानमन्त्रीले छोड्न सक्नुपथ्र्यो । छोड्ने ततपरता देखाउनुभयो भने लोकतन्त्रको सम्मान हुन्छ । अहिलेको सिस्टमको सम्मान हुन्छ, अहिलेको संविधानको सम्मान हुन्छ । तर आज उहाँ कानून, व्यवस्था सबै पौकेटमा लिएर जे मन लाग्छ त्यही गर्दैहुनुहुन्छ । यसलाई रोक्न जरुरी छ । म फेरी पनि सभामुखमार्फत प्रधानमन्त्रीले सम्पती विवरण सार्वजनिक गर्न तपाईको मार्फत रुलिङ होस् भन्ने चाहन्छु ।’