समाचार

माघ १५ देखि विद्यालय खुल्ने

११ माघ २०७८, मंगलवार १५:४३
माघ १५ देखि विद्यालय खुल्ने

११ माघ, काठमाडौं। विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप लगाउन सरकारले माघ १५ देखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ।

उक्त अवधिमा पठनपाठन भने नहुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सहायक प्रवक्ता धनबहादुर श्रेष्ठले जानकारी दिए। पछिल्लो समय कोरोना संक्रमण तीव्र बढेपछि मन्त्रालयले पुस २७ गतेदेखि माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। तर‚ माघ १५ पछि विद्यालय खुला गर्ने निर्णय गरेपछि सर्वसाधारण भने भौतिक उपस्थितिमै पठनपाठन हुने बुझाइमा थिए।

स्थानीय तहको समन्वयमा विद्यालय खोलिने उनले बताए। भीडभाड नगराउने गरी खोप कार्यक्रम सञ्चालन गर्नका लागि सबै कक्षा कोठा पाँच दिन खुला गरिने छ।

मन्त्रालयले सूचना निकालेर विद्यार्थीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ। खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने तयारी सरकारको छ।

प्रतिक्रिया दिनुहोस्