समाचार

इन्स्टाग्रामले ल्यायो ‘लक्ड रील्स’ फिचर

४ बैशाख २०८२, बिहीबार १७:३०
इन्स्टाग्रामले ल्यायो ‘लक्ड रील्स’ फिचर

काठमाडौँ। सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताका लागि ‘लक्ड रील्स’ नामक नयाँ फिचर ल्याउने तयारी गरिरहेको छ। यो फिचरमार्फत प्रयोगकर्ताले आफ्नो रील्सलाई पासवर्डद्वारा लक गर्न सक्नेछन्। जसले निजी गोपनीयता र विशेष पहुँच प्रणालीलाई अझ मजबुत बनाउनेछ।

के हो ‘लक्ड रील्स’ फिचर?
‘लक्ड रील्स’ नामबाटै स्पष्ट हुन्छ कि यो फिचरले प्रयोगकर्तालाई आफ्नो रील्समा पासवर्ड सुरक्षा थप्ने सुविधा दिनेछ। यसरी राखिएको रील्स केवल त्यसको पासवर्ड थाहा भएकाले मात्र हेर्न पाउनेछन्।

यो फिचर मुख्यतः इन्फ्लुएन्सर, ब्राण्ड, र कन्टेन्ट क्रियटर्सलाई लक्षित गरेर बनाइएको भए पनि, इन्स्टाग्रामले यसलाई सबै प्रयोगकर्ताका लागि सार्वजनिक रूपमा उपलब्ध गराउने योजना बनाएको छ।

इन्गेजमेन्ट बढाउने उद्देश्य
सोधिने एउटा स्वाभाविक प्रश्न हो— पासवर्ड राखेर सीमित पहुँच दिइएको रील्सले इन्गेजमेन्ट कसरी बढाउँछ? विशेषज्ञहरूका अनुसार, जब कुनै सामग्रीमा पहुँच सीमित गरिन्छ, त्यसप्रति उत्सुकता र आकर्षण बढ्ने प्रवृत्ति देखिन्छ। उदाहरणस्वरूप, यदि कुनै चर्चित सेलिब्रेटीले आफ्नो रील्स पासवर्ड राखेर अपलोड गर्छ र आफ्ना फलोअर्सलाई त्यस पासवर्डको क्लू (जस्तै: जन्म मिति) मात्र दिन्छ, भने प्रयोगकर्तामा त्यो रील्स हेर्न खोज्ने उत्साह अझ तीव्र हुन्छ।

यसैगरी, ब्राण्डहरूले पनि आफ्ना प्रमोशनल क्याम्पेन, प्रडक्ट लन्च, वा विशेष अफरहरू यस्ता ‘लक्ड रील्स’ मार्फत मात्र सार्वजनिक गर्न सक्नेछन्।

सकारात्मक र नकारात्मक प्रतिक्रिया
जहाँ केही प्रयोगकर्ताले यो फिचरलाई रचनात्मकता बढाउने माध्यमका रूपमा लिनेछन्, त्यहीँ केही प्रयोगकर्ताले भने यसलाई रील्स अनुभवमा अवरोध ल्याउने चिन्तासमेत व्यक्त गरिरहेका छन्। स्क्रोल गर्दै गर्दा बारम्बार पासवर्ड मागिने सामग्री देखिँदा प्रयोगकर्ताहरू दिक्क हुन सक्ने प्रतिक्रिया सामाजिक मिडियामा देखिएको छ।

औपचारिक घोषणा बाँकी
हालसम्म इन्स्टाग्रामले यो फिचरबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिसकेको छैन। त्यसैले ‘लक्ड रील्स’ कहिलेदेखि सबै प्रयोगकर्तालाई उपलब्ध हुनेछ भन्ने बारेमा एकिनसाथ केही भन्न सकिने अवस्था छैन।

तर, इन्स्टाग्रामले हालैका वर्षहरूमा प्रयोगकर्ता अनुभव र गोपनीयता नियन्त्रणलाई उच्च प्राथमिकता दिँदै आएको छ। यस्तो पृष्ठभूमिमा ‘लक्ड रील्स’ फिचर पनि निकट भविष्यमा टेस्टिंग र रोलआउटको चरणमा पुग्ने सम्भावना बलियो देखिन्छ।

प्रतिक्रिया दिनुहोस्