समाचार

४ हजार इसेवा खाताको ह्याक: युवकद्वारा एक करोड दुई लाख रुपैयाँ चोरी

४ बैशाख २०८२, बिहीबार १७:०५
४ हजार इसेवा खाताको ह्याक: युवकद्वारा एक करोड दुई लाख रुपैयाँ चोरी

काठमाडौं। राजधानीको अनामनगरमा बसोबास गर्दै आएका एक युवाले डिजिटल ठगीमार्फत हजारौं मानिसलाई ठगी गरेका छन्। कञ्चनपुर घर भई हाल काठमाडौंको अनामनगरमा बस्दै आएका २२ वर्षीय राहुल बुढाले चार हजार इसेवा अकाउन्ट ह्याक गरी एक करोड दुई लाख रुपैयाँ चोरी गरेको खुलेको छ।

यो चौंकाउने घटना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको हो। कार्यालयका अनुसार बुढाले पछिल्लो एक साताको अवधिमा यो ठगी कार्य सम्पन्न गरेका हुन्। उनलाई वैशाख २ गते कालिमाटीबाट पक्राउ गरिएको हो।

ठगीको शैली: SMS मार्फत ‘सस्पेन्ड अलर्ट’
प्रहरी अनुसन्धानका अनुसार बुढाले सर्वसाधारणलाई SMS पठाएर ठगीका लिंकमार्फत ह्याकिङ गरेका थिए। ती म्यासेजहरू “The Alert”, “AT Alert” भन्ने नामबाट पठाइन्थ्यो, जसमा भनिन्थ्यो– “तपाईंको खाता सस्पेन्ड हुन लागेको छ, कृपया लिंक खोली पुनः भेरिफिकेसन गर्नुहोस्।”

त्यस्ता म्यासेजमा रहेका लिंक खोलेपछि प्रयोगकर्ताहरूको इसेवा खाता बुढाको नियन्त्रणमा पुग्ने गर्थ्यो। यसरी उनले सजिलै ती खातामा रहेको रकम चोरी गर्न सफल भए।

रकम मर्चेन्ट खातामा स्थानान्तरण
चोरी गरिएको रकम उनले पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खातामा स्थानान्तरण गरेका थिए। उक्त खाताबाट रकम अन्य माध्यममा सारिएको हुनसक्ने आशंका गरिएको छ।

प्रवक्ता अंगुर जिसीका अनुसार, “यो रकम उनले केवल एक साताको अवधिमा हत्याएका हुन्। अप्रिल महिनाको पहिलो साताको स्टेटमेन्ट अनुसार उक्त चोरी पुष्टि भएको छ।”

यस घटनामा अन्य धेरै अकाउन्ट पनि ह्याक गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। यद्यपि वास्तविक संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

बुढालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ। प्रहरी अब इसेवा सर्भर, फोन कल डाटा, बैंकिङ ट्रान्जेक्सन, र डिजिटल फुटप्रिन्टहरूका आधारमा थप अनुसन्धान गरिरहेको छ।

डिजिटल सुरक्षा प्रति सचेत रहन आग्रह
यस घटनाले डिजिटल माध्यममा हुने ठगीको खतरा फेरि एकपटक सतहमा ल्याएको छ। प्रहरी र साइबर सुरक्षा विज्ञहरूले प्रयोगकर्ताहरूलाई कुनै पनि अनौपचारिक म्यासेज, लिंक, वा अनधिकृत एप्स नखोल्न र आफ्नो खातामा टू-फ्याक्टर अथेन्टिकेसन राख्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्