काठमाडौं। चलचित्र ‘कर्मा’को गीत सार्वजनिक भएको छ । सुशान्त केसीको युट्युब च्यानलबाट ‘कर्मा’को गीत सार्वजनिक गरिएको हो ।
‘पागल’ बोलको प्रेमिल गीतमा लोकप्रिय गायक सुशान्त केसीको स्वर छ । गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ ।विपीन कार्कीले उपासना सिंह ठकुरीलाई देख्नबित्तिकै मायामा पागल बनेको क्षणलाई गीतले पक्रेको छ । गीतको शब्द तथा लय सुशान्त केसीको आफ्नै फ्लेबरमा छ ।
जसका कारण युवा पुस्ताले यो गीत मन पराउनेमा चलचित्रको निर्माणपक्ष ढुक्क छ । एकले अर्काको आँखामा देखेको प्रेमको गहिराइलाई सुशान्तले गीतमा उतारेका छन् ।
फेसबुक सर्ट तथा रिल्समा राखेको छोटो किल्प नै दर्शकले औधी मन पराएका थिए । अहिलेको युवापुस्ताले रुचाउने खालको गीत उनले तयार पारेका छन् ।
चलचित्रमा सुशान्तले गाएको यो पहिलो गीत हो । यसअघि थुप्रै चलचित्रबाट अफर आए पनि सुशान्तले सिनेमाका लागि गीत गाएका थिएनन् । कलेक्सन एल्बममा उनी उनी गीत गाउँदैनन् ।
शुसान्तले सिनेमाको पहिलो गीत, नयाँ अनुभव चैतमा छिट्टै हलमा भन्दै सामाजिक सञ्जालमा यसअघि नै लेखेका थिए । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । विपीन र उपासनाले भिडियोमा अभिनय गरेका छन् । एकअर्काप्रतिको गरेको माया गीत र भिडयोमा देख्न सकिन्छ ।
सिनेमाको फुटेज भिडियोमा प्रयोग गरिएको छ । सिनेमाका कलाकारको जति नै सुशान्त पनि भिडियोमा फिचर्ड छन् । नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ रिलिज हुँदैछ ।
चलचित्र ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी आफैँले लेखेका छन् ।
‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।