मुख्य समाचार

असफल भईसकेको ओली सरकारले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्छ : प्रभु साह

१८ चैत्र २०८१, सोमबार १९:४२
असफल भईसकेको ओली सरकारले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्छ : प्रभु साह

रौतहट। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असफल भएको टिप्पणी गरेका छन् ।

असफल भईसकेको वर्तमान सरकार भेन्टिलेटरमा भएको विरामीको अवस्थामा पुगेको उनले दावी गरे । रौतहटको कटहरियामा आजपाको जिल्ला अगुवाकार्यकर्ता भेला आज सम्बोधन गर्दै आजपा अध्यक्ष साहले ओली सरकार ‘मल्टिपल अर्गान फेलियर’ को अवस्थामा रहेको बताए ।

प्रधानमन्त्री ओली संसद र सडक दुवैबाट अस्विकृत भईसकेको बताउदै उनले तत्काल राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिए । देशमा सरकार छ भन्नेपनि नागरिकले अनभूति गर्न छोडिसकेका छन् । नैतिकताको कसीमा उभिने हो भने प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर मार्गप्रशस्त गर्दा नै मुलुक र एमालेको हित हुन्छ । नत्र एमालेको अस्तित्व समाप्त हुने दिन टाढा छैन्,’ आजपा अध्यक्ष साहले भने ।

सरकारको गलत रबैयाको कारण देश असफल भईरहेको बताउदै उनले सरकारको आन्तरिक र बाहृय सम्बन्ध अशान्त बनेको बताए । ‘यो सरकार आएपछि भारतसँगको सम्बन्ध बिग्रियो । राजनीतिक तहमा सम्वादहिनता देखिएको छ । सरकारले असन्तुलित कुटनीति अपनाएको कारण भारतसँगको सम्बन्ध बिग्रिएको हो’, उनले भने ।

उनले अहिले एउटा भ्रमणको लागि पूरै राज्य–संयन्त्र दुरूपयोग गर्न खोजिएको बताए । विभिन्न देशले आयोजना गर्ने सम्मेलनमा भाग लिने र त्यही मौकामा यसो साइडलाईन भेटवार्ता गर्न अहिलेका परराष्ट्रमन्त्री र प्रधानमन्त्री उद्धत रहेको बताउदै यो त देशको लागि पनि लाजको विषय भएको बताए ।

तीनकुने घट्नामा सुरक्षा कमजोरी भएको बताउदै उनले यसको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताउदै भने, ‘यसको जिम्मा गृहमन्त्री र प्रधानमन्त्रीले लिनुपर्दैन् ? म त भन्छु–यो सरकार देशमा शान्ति, सु–व्यवस्था र जनधनको सुरक्षा गर्न असफल भैसक्यो । संघीय राजधानी काठमाडौंमा घोषित कार्यक्रममा समेत सुरक्षा मजबुद गर्न नसक्ने सरकारले देशको कुनै कुनामा कसरी शान्ति सुरक्षा र अमनचयन कायम गर्न सक्छ ? तिनकुने घट्नाले गम्भीर प्रश्न उठाएको छ ।’

साहले प्रधानमन्त्री खोपीको देउता भएको टिप्पणी गरे । ‘बालुवाटार र सिंहदरबारबाहेक केही देख्न पाउनुभएन ? किन यस्तो अवस्था आयो ? देशमा मात्रै होईन विदेशमा समेत नेपालीहरुले प्रधानमन्त्रीको विरुद्धमा नाराबाजी गरेका छन् । असफल भएपछि पनि कुर्सीमा बसिरहन केले प्रेरिरत गर्छ ? देशले अहिले जुन मूल्य चुकाउनुपरेको छ, यसको जवाफ देश र जनताले केपी ओली र शेरबहादुर देउवासँग लिनेछ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्