रूपन्देही। नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो।
१५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा ४ विकेट गुमाएर जित निकाल्यो। कुशल भुर्तेलले ७० बलमा ७ चौका र ३ छक्का सहित ६१ रन बनाए। अमित श्रेष्ठले ३९ र दिलिपनाथले अविजित ३१ रन जोडे। आर्मीका साहब आलमले ३ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको आर्मी ४३ ओभरमा १५४ रनमै अलआउट भयो। बसीर अहमदले १०४ बलमा ९ चौका र १ छक्का सहित ८६ रन बनाए भने विनोद भण्डारीले २९ रन जोडे। पुलिसका करण केसी र सागर ढकालले समान ३/३ विकेट लिए।
यस संस्करणका ४६ खेल पहिलो पटक काठमाडौँ बाहिर रुपन्देही, तिलोत्तमा र दाङका विभिन्न रङ्गशालामा आयोजना गरिए। प्रतियोगितामा ७ प्रदेशसहित १० टोली सहभागी थिए।