काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर मानवता विरोधी अपाराध गरेको बताएका छन् ।
उनले सरकारले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर नाकाबन्दी गरेको टिप्पणी गरे ।
काठमाडौंको बिभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीमा आजपा अध्यक्ष साहले उनीहरुको अवस्था बुझ्दै विभिन्न समस्याको बारेमा छलफल गरेका छन् । मंगलबार काठमाडौंका सुकुम्बासी बस्तीमा पुगेका साहले सुकुम्बासी बस्तीमा खानेपानी नदिएर सरकार अमानविय अपराध गरेको बताउदै खानेपानीको व्यवस्था गर्न माग गरेका छन् ।
‘सरकारले सुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गरेको छैन् । उनीहरुलाई शुद्ध खानेपानी नदिएर सरकारले मानवता विरोधी अपराध गरेको छ । फोहोर पानीमा डुब्ने, सरकारलाई कर दिने, उम्मेदवारलाई मतादान गर्ने तर उनीहरुलाई खानेपानी नदिएर सरकारले नाकावन्दी नै गर्यो । उनीहरुको समस्या समाधान गर्न सरकारले चासो दिएन्, यो ठिक होईन् । हामी त्यतिकै छोड्दैनौं’, आजपा अध्यक्ष साहले भने, ‘सुकुम्बासी बस्तीका समस्या समाधान गरी उनीहरुलाई व्यवस्थित रुपमा गाँस, बाँस र कपासको व्यवस्था सरकारले गर्न आवश्यक छ ।’
सरकारमा रहेका प्रधानमन्त्री, मन्त्री र केही सिमित नेताहरुले आफ्नो क्षेत्रको समस्या मात्रै समस्याको रुपमा बुझेको बताउदै उनले काठमाडौंको बिभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीहरुको समस्या समाधान गर्नुपर्ने जोड दिए । नेताहरुले आफ्नो क्षेत्रमा लालपुर्जा बाँड्ने तर काठमाडौंको सुकुम्बासी समस्या समाधानमा चासो नदिएको उनले बताए । काठमाडौंका सुकुम्बासीहरुलाई लालपुर्जा दिएर यो समस्या समाधान गर्नुपर्ने उनले बताए ।
अहिलेको दलाल एवं लुटकारी दलतन्त्रका कारण सुकुम्बासीको समस्या समाधान हुन नसकेको बताउदै उनले दलाल दलतन्त्रको अन्त्य र सुकुम्बासी समस्याको समाधानका लागि तेस्रो जनआन्दोलनमा सहभागि हुन उनले आग्रह गरेका छन्।
दलाल एवं लुटकारी दलाल दलतन्त्रको अन्त्यका लागि तेस्रो जनआन्दोलनको घोषणा गरेका साह यतिवेला आन्दोलन सफल बनाउने रणनीतिका साथ भेटघाट एवं छलफलमा रहेका छन् । उनले गत वर्षको चैत्र २४ गते भृकुटीमण्डपबाट नै तेस्रो जनआन्दोलनको ऐलान गरेका थिए । सोहीअनुसार यही चैत्र २४ गते भृकुटीमण्डपमा आयोजना हुने तेस्रो जनआन्दोलन कार्यक्रमलाई सफल बनाउनको लागि उनी सुकुम्वासी अगुवाहरुसँग छलफलमा गरेका हुन् ।