खेलकुद

प्रधानमन्त्री कप पुरुष क्रिकेटः एपीएफ क्लब दुई विकेटले विजयी

२९ फाल्गुन २०८१, बिहीबार १६:५०
प्रधानमन्त्री कप पुरुष क्रिकेटः एपीएफ क्लब दुई विकेटले विजयी

दाङ। यहाँको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टीम एपिएफ क्लबले मधेश प्रदेश विरुद्ध दुई विकेटले जित निकालेको छ ।

आज भएको खेलमा कमलसिंह ऐरीको अलराउण्डर प्रदर्शनमा एपिएफले मधेश प्रदेशलाई पराजित गरेको हो । मधेश प्रदेशले दिएको १६९ रनको लक्ष्य एपिएफले ३६ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो । ऐरीले ३ छक्काको सहयोगमा अविजित २८ रन बनाए  । सामान्य लक्ष्य पछ्याउने क्रममा सुमित महर्जन ३५ रनमा पेभेलियन फर्किए पछि केही दबाबमा परेको एपिएफलाई कमलसिंह ऐरीले उत्कृष्ट खेल्दै जित दिलाए ।

मधेश प्रदेशका कमल गुप्ताले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ४ विकेट लिए । प्रदीप पासवानले  १ मेडनसहित २८ रन दिएर २ विकेट लिए । रुपेश सिंह र हरिशंकर शाहले १–१ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित ५० ओभरको खेलमा ४० दशमलव ४ आभेरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो । मधेशका कप्तान अनिलकुमार साह र मयन यादवले ३१ रन बनाएर खेलिरहेको बेला भुवन कार्कीको बलिङमा यादव बोल्ड आउट भएपछि मधेशको विकेट पतन सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्