काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौंतर्फ हिँडेका छन् । गत माघ २७ गते पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह चार्टर्ड जहाजबाट दिउँसो ३ बजेर २० मिनेटमा काठमाडौं फर्किएका हुन् ।
परिवारसहित उनी समिट एयरको चार्टर्ड विमानमार्फत् काठमाडौं प्रस्थान गरेका हुन् । पोखरामा पूर्वराजालाई बिदा गर्न राप्रपा कास्कीले शुभयात्रा कार्यक्रम आयोजना गरेको थियो । राप्रपा नेता अरुण गिरीका अनुसार पूर्वराजालाई दुबोको माला र दहीको ठेकी दिएर बिदा गरिएको छ ।
उनलाई काठमाडौंमा पञ्जेबाजासहित विशेष रूपमा स्वागत गरिने तयारी छ। अहिले उनको स्वागतका लागि सयौँ राजावादीहरू विमानस्थल क्षेत्रमा छन् । उनलाई स्वागत गर्नको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, व्यवसायी दुर्गा प्रसाई लगायतका हजारौँ समर्थकहरु विमानस्थलमा पुगेका छन् ।