मुख्य समाचार

अध्यादेश पारित गर्न सरकार नै सांसद किनबेचमा लागेको आरोप सत्ता पक्षबाटै लगाईएको छ, सरकारले तत्काल स्पष्ट पारोस : साह

१९ फाल्गुन २०८१, सोमबार १५:४४
अध्यादेश पारित गर्न सरकार नै सांसद किनबेचमा लागेको आरोप सत्ता पक्षबाटै लगाईएको छ, सरकारले तत्काल स्पष्ट पारोस : साह

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको कांग्रेस–एमाले सरकार असफल भैसकेकोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन मागेका छन् ।

सरकारकै संयन्त्रले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन (अर्धवार्षिक रिपोर्ट कार्ड) मा प्रधानमन्त्री आँफै फेल भएको भन्दै कुन नैतिकताले सरकारको नेतृत्वमा बस्न मिल्छ भन्दै साहले प्रश्न गरेका छन् । आज (सोमबार) काठमाडौंमा मिडिया सेन्टरद्धारा आयोजित विशेष साक्षात्कारमा बोल्दै साहले सरकारको नेतृत्वकर्ता नै फेल भएपछि सरकारमा कुन मोरल लिएर बस्न सकेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरे ।

उनले भने,‘देशको नेतृत्वकर्ता नै फेल भएपछि देश कसरी उँभो लाग्छ ? कार्यसम्पादन मूल्यांकनमा उहाँ आँफै फेल हुनुभयो, लाजमर्दो कुरा त के छ भने उहाँको क्याविनेटमा आधाभन्दा बढि मन्त्रीहरु नै फेल भएका छन् । यो फेलियरहरुको सरकार पुष्टि भैसक्यो, अनि कसरी देशमा सुशासन र विकास हुन्छ त ?’ प्रधानमन्त्री ओलीसहित १२ जना मन्त्रीहरुको कार्यसम्पादन रिपोर्टअनुसार ३५ प्रतिशत अंक आएको छैन् । प्रधानमन्त्री ओलीको जम्मा २८ प्रतिशतमात्रै अंक आएको छ ।

साहले अहिले सत्ता गठबन्धनमा समेत कलह देखिएको दाबी गरे । उनले देश दलतन्त्रको दलदलमा फसेको र मुलुक महासंकटमा पुगेको गम्भीर आरोप लगाए । साहले अहिलेको सरकार सबै मोर्चामा असफल भएको र स्वयम प्रधानमन्त्री ओलीमा सरकारको नेतृत्वमा निरन्तरताको विषय नैतिक संकटमा परेको टिप्पणी गरे । उनले अहिलेको सरकारको व्यवहारको कारण जनताको हाल बेहाल भएको र मुलुक दिनानुदिन असफल राष्ट्रको यात्रामा अघि बढेको गम्भीर आरोप लगाए । उनले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अहिले ठूलो विचलन र संकट आएको दाबी गरे ।

पूर्वमन्त्री साहले सरकारको नेतृत्वकर्ता नै प्रश्नहरूबाट भागिरहेको आरोप लगाए । उनले भने,‘अहिलेका प्रधानमन्त्री प्रश्न सुन्नै रुचाउनुहुन्न, उहाँकाअघि हामी सांसदहरुको प्रश्न त वर्जित छन्, सर्वसाधारण जनताको प्रश्नको त कुनै पहुँच नै हुँदैन । उहाँ संसद्, संविधान र सडक मास्न उद्धत हुनुहुन्छ । संसद् छलेर अध्यादेशको शासनको आतंक मच्चाउनुभएको छ, तर आँफैले ल्याएका अध्यादेश अहिले अलपत्र परेका छन् । अध्यादेश पारित गराउने सामान्य बहुमतपनि नभएको कुरा पुष्टि भैसकेको छ, नत्र एक महिना बितिसक्दापनि ती अध्यादेश निर्णयार्थ किन सदनमा पेश हुन सकेन ? म प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु–तपाईंको दुई तिहाई कता गायब भयो ?’

उनले अहिलेको सरकार ७ बुँदे सहमतिको जगमा बनेको भनिएको उल्लेख गर्दै ७ महिना व्यतित हुँदापनि चालु आर्थिक वर्षमा ७ खर्बपनि राजश्व संकलन गर्न नसकेकोमा पनि प्रश्न उठाए । उनले भने,‘यो सरकार आर्थिक रुपमा पूरा असफल भैसकेको छ । ७ महिना भयो, तर ७ खर्बपनि राजश्व संकलन गर्न सकेन, आँफैले लिएको लक्ष्य भेटाउन नसक्ने सरकार कसरी सफल हुन्छ ? कसरी देशको विकास हुन्छ ? पुँजीगत खर्चको त्यस्तै हाल बनाईएको छ, माघसम्म एक खर्ब १८ अर्ब ४० करोड खर्च गर्ने लक्ष्य राखेको यो सरकारले जम्मा ६८ अर्ब ४१ करोडमात्रै पुँजीगत खर्च गरेको छ ।’ भ्रष्टाचारले भव्यता मनाएको र सुशासन सुनसान बनेको भन्दै अहिलेको सरकारबाट विकास र समृद्धिको कल्पना गर्नसमेत नसकिने साहको आरोप छ ।

साहले अध्यादेश पारित गराउनको लागि सरकारले सांसद किनबेच गर्न लागेको गम्भीर कुरा बाहिरिएको भन्दै त्यसमा छानबिनको माग गरे । उनले सत्ता गठबन्धनमा रहेकै दल जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले लगाएको आरोपको सन्दर्भमा सरकारको भूमिकाको आलोचना गरेका हुन् ।

उनले भने,‘सरकार यति निर्लज्ज भएकै हो त ? अध्यादेश पारित नहुने भएपछि सांसद किनबेचमा लाग्ने ? यो गम्भीर अपराध हो । अहिलेको २१औं शताब्दीमा जनप्रतिनिधिलाई किन्ने भन्ने कुरा कत्तिको शोभनीय हुन्छ ? यति गम्भीर आरोप सार्वजनिक हुँदापनि सरकारमा भएकाहरुले अहिलेसम्म मुख खोलेका छैनन्, म सरकारको नेतृत्वकर्ता र सत्ता सहकार्यमा रहेको कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी र यसका नेताहरुको जवाफ माग्दछु । आरोपमात्रै हो भने त्यसको पनि सत्यतथ्य बाहिर आओस, र जवाफदेहिता देखाईयोस ।’ उनले अहिले अध्यादेश सरकारको लागि गलपासो बनेको आरोप लगाए । साहले अहिलेको प्रधानमन्त्री ओलीबाट संसद, संविधान र सडक सुरक्षित नभएको आरोप लगाए ।

उनले नेपालको विदेश सम्बन्ध विस्तारै बिग्रिरहेको आरोप लगाए । भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर देशको लागि फाइदा लिनुपर्नेमा सरकारको अपरिपक्वताको कारण नेपालले लाभ लिन नसकेको टिप्पणी गरे । भारतसँगको सम्वाद टुटेको भन्दै साहले सरकारको आलोचना गरे ।

उनले भने,‘यो सरकारले भारतको भावना, चीनको चाहना र अमेरिकाको आकांक्षा बुझ्नुपर्छ । तर, व्यवहारमा त्यस्तो देखिएन । दुई तिहाईभन्दा बढि व्यापार घाटा भएको भारतसँग अहिलेको सरकारले सम्वादहीनको अवस्था बनाएको छ । प्रधानमन्त्रीले आफ्नो निहित स्वार्थमा नेपाली जनताको सपना चकनाचुर बनाउनुभएको छ । नेपाली जनताको संघर्ष र त्यागलाई व्यापार गरिरहनुभएको छ । नेपाली जनतालाई बर्वाद बनाउने संकल्प गर्नुभएको छ ।’

अहिले देशमा लोकतन्त्रको नाममा दलतन्त्र हाबी भएको आरोप लगाए । दलतन्त्रको नाममा पनि ठूला दल र ठूला नेताहरुको सिण्डिकेट लादिएको भन्दै साहले आक्रोश पोखे । देशमा कर आतंक मच्चाईएको भन्दै साहले आक्रोश पोखे । उनले देशको बर्वादीको यात्रा रोक्नको लागि नेपाली जनता तात्नुपर्नेमा जोड दिए । उनले कांग्रेसले प्रधानमन्त्री ओलीलाई काँधमा बोकेर हिँड्न नहुने सुझाव दिए । उनले कांग्रेस र एमालेको सरकार गठन भएदेखि देश ओरालो यात्रामा लागिरहेको टिप्पणी गरे ।

उनले सरकारले कर आतंक मच्चाएको तर जनतालाई कर तिरेबापत कुनै सेवा तथा सुविधा नदिएकोमा आक्रोश पोखे । उनले नेपाल सरकारले सञ्चालनमा ल्याएका उद्योगहरु घाटामा हुँदा सरकारले कुन मोरलले निजी क्षेत्रसँग कर लिन मिल्छ ? भन्दै प्रश्न गरे । उनले दलको आतंक रोक्नको लागि जनता अब सडकमा आउनुपर्ने आवश्यकत्ता औंल्याए ।

प्रतिक्रिया दिनुहोस्