समाचार

आज सर्वदलीय बैठक बस्दै, चुनावकाे बारेमा छलफल हुने

८ माघ २०७८, शनिबार ०३:०२
आज सर्वदलीय बैठक बस्दै, चुनावकाे बारेमा छलफल हुने

८ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउनु भएको छ ।

बैठक बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा स्थानीय तहकाे निर्वाचन, संसद खुलाउने लगायतका विविध विषयमा छलफल गरिने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

सर्वदलीय बैठक बोलाउनुअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले हिजो साँझ विभिन्न दलका नेताहरुसँग छलफल गरेका थिए । त्यसअघि हिजो बसेको सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संविधान र कानूनीविद्हरुसँग परामर्श गर्ने र स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो ।

निर्वाचन आयोगले भने २०७९ जेठ ५ मा स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल सकिने भएकाले वैशाख १४ र २२ मा निर्वाचन घोषणा गर्न सरकारलाई सिफारिश गरेको छ । तर सत्तारूढ दलका नेताहरूले भने स्थानीय निर्वाचनबारे संविधान र स्थानीय तह निर्वाचन ऐनको व्यवस्था बाझिएको बताएका छन् ।

साथै तीन चरण २०७४ साल वैशाख २९ , असार १४ र असोज २ मा निर्वाचन भएकाले पाँच वर्षे कार्यकाल कहिले शुरु भएको मान्ने भन्ने पनि अन्योल छ ।

प्रतिक्रिया दिनुहोस्