समाचार

पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न सक्दैनः अर्थमन्त्री शर्मा

५ माघ २०७८, बुधबार १५:२१
पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न सक्दैनः अर्थमन्त्री शर्मा

५ माघ, काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीका कारण पुनः लकडाउन गर्नु परे मुलुक आर्थिकरुपमा चल्न नसक्ने बताएका छन्।

बुधबार अर्थमन्त्रालयमा निजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्दै मन्त्री शर्माले सरकारले बन्द तथा लकडाउन गर्न नहुने भन्दै  पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताएका हुन्।

उनले मन्त्रिपरिषद्मा कोरोना महामारी बढ्दै गएको भन्दै बन्दका कुरा उठ्न लागेकाले बैठकमा बन्दको शब्द नै राख्न नहुने पक्षमा आफू रहेको बताए । मन्त्री शर्माले कोरोना महामारी नियन्त्रणको लागि सुरक्षाका विधिहरु कडाईका साथ लागू गरेर भए पनि अर्थतन्त्र चलायमान बनाउनु पर्ने अवस्था रहेको बताए।

उनले नीजी क्षेत्र र सरकारको प्राथमिकता लकडाउन अथवा बन्द गर्न नहुने पक्षमा रहेकाले कोरोना रोकथामको विकल्प लकडाउन नभएको बताए। त्यस्तै अर्थमन्त्री शर्माले अहिले अर्थथन्त्रमा नीतिगत तथा संरचनागत सुधारको आवश्यकता रहेको बताए। उनले अर्थतन्त्रको बाधक नीतिगत तथा संरचनागत व्यवस्था रहेको बताए।

अहिले आफूले नीतिगत परिर्वतन गर्न खोजेको भए पनि बिरोध भइरहेको अर्थमन्त्री शर्माले बताए। उनले पछिल्लो समय बाहिर हल्ला भएजस्तो मुलुकको अर्थतन्त्र समाप्त नै नभएको बताए।

प्रतिक्रिया दिनुहोस्