२९ माघ, काठमाडौं। नेपालका भूपेन्द्र गुरुङले आईएमएसी खुला प्रतियोगितामा २ स्वर्ण पदक जितेका छन् । इन्टरनेसनल मार्सल आर्ट्स कोर्पोरेसन (आईएमएसी) मुख्यालयद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले २ फरक स्पर्धामा स्वर्ण जितेका हुन् ।
भूपेन्द्रले युकेमा भएको प्रतियोगिताको नान् छ्वान र ताइची स्पर्धामा स्वर्ण जिते । उनले नान् छ्वानमा २७.३ तथा ताइचीमा २७ अंक जोडे । दुवै स्पर्धा ३० पूर्णाङ्कको थियो । तीन महिनाको अवधिमा भूपेन्द्रले जितेको योसहित ८ पदक हो ।
यसअघि अमेरिकाको विभिन्न शहरमा भएका ३ प्रतियोगितामा भूपेन्द्रले ६ पदक जितेका थिए । व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा २ स्वर्ण, १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा २ रजत र छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत जितेका थिए ।
भूपेन्द्र आईएमएसी खुला प्रतियोगिता खेल्न अमेरिकाबाटै युके पुगेका हुन् । युकेमै उनले उमा नेपालको चौथो डान पनि प्राप्त गरेका छन् । वल्र्ड युनाइटेड मार्सल आर्ट्स (उमा) का अध्यक्ष ग्रान्ड मास्टर रिचर्ड होप्किन्सले भूपेन्द्रलाई प्रमाण पत्र प्रदान गरे । नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईलाई पनि नेपालका लागि आईएमएसीको महासचिवको जिम्मेवारी दिइएको छ ।