टोखा, माघ । टोखा नगरपालिका वडा नं. ७ स्थित तिलिङटार मावि को प्राङ्गणमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप सेवा अभियान सुरु गरिएको छ।
नगरप्रमुख प्रकाश अधिकारी ले विद्यार्थीहरूलाई क्युआर कोड वितरण गरी कार्यक्रमको उद्घाटन गर्नुभयो।
यो अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ, जसअन्तर्गत नगरका सबै विद्यालयमा खोप कार्यक्रम सञ्चालन हुने योजना रहेको छ। ६ देखि १० कक्षामा अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका सम्पूर्ण छात्रा तथा किशोरीहरूलाई खोप दिने लक्ष्य राखिएको छ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि सी, वडा नं. ७ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरोत्तम राना, नगर प्रवक्ता बच्चुराज बस्याल, विद्यालयका प्रधानाध्यापक सरोज पाण्डे, कार्यपालिका सदस्यहरू, स्वास्थ्य शाखा प्रमुख, विद्यालय परिवार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि सी ले “पाठेघरको मुखको क्यान्सर नेपालमा चौथो प्रमुख क्यान्सर रोग हो। यस विरुद्धको खोप सबै बालिकाहरूले लगाउनुपर्छ। हामी ८,३०० जनालाई एचपीभी भ्याक्सिन दिने लक्ष्य पूरा गर्नेछौं। यो खोप सुरक्षित छ र यसबाट कुनै साइड इफेक्ट छैन,” भन्नुभयो।
नगर प्रमुख प्रकाश अधिकारी ले “नेपालमा हरेक वर्ष १,४०० महिलाको मृत्यु पाठेघरको क्यान्सरका कारण हुने गर्छ। एचपीभी खोप अनिवार्य रूपमा लगाउनाले यो रोगबाट बच्न सकिन्छ। टोखा नगरपालिकाले यो अभियानलाई पहिलो प्राथमिकता दिएको छ,” भन्दै नगरपालिका कोभिड महामारीको समयमा क्युआर कोडबाट खोप व्यवस्थापन गर्ने पहिलो नगरपालिका भएको उल्लेख गर्नुभयो।