२५ माघ, काठमाडौँ। काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलाको उपाधि थाइल्याण्डले जितेको छ ।
शुक्रबार भएको अन्तिम खेलमा थाइल्याण्डसँग ७ विकेटले पराजित भएपछि नेपाल यो श्रृङखलामा जितवीहिन भएको छ । सिरिजमा खेलेको ६ मध्ये ५ खेलमा जित हात पार्दै १० अंकका साथ थाइल्याण्ड च्याम्पियन बन्यो । नेपालले सिरिजमा सबै ६ खेल हार्यो ।
८२ रनको सामान्य लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डको जितमा कप्तान नारुइमोल चाइवाईले नट आउट रहँदै सर्वाधिक २७ रन जोडिन् । नान्नापत खोन्चरोएन्कले ३२ बलमा २३ रन बनाइन् ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्यो ।