समाचार

अवैध उत्खनन् रोक्न मुख्यमन्त्री सिंहले मध्यरातमै गरे छड्के अनुगमन

२४ माघ २०८१, बिहीबार १३:४९
अवैध उत्खनन् रोक्न मुख्यमन्त्री सिंहले मध्यरातमै गरे छड्के अनुगमन

२४ माघ,जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह मध्यराति कमला खोलाको अनुगमनमा पुगेका छन्।

मुख्यमन्त्री सिंहसहित पुगेका सुरक्षाकर्मीलाई देखेपछि रातको समयमा कमला खोलाको दोहन गरिरहेकाहरू भागाभाग भए । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित कमला खोलाको पोर्ताहा क्षेत्रमा बुधबार मध्यरातमा पनि बालुवा र गिट्टी उत्खनन् भइरहेको थियो ।

मुख्यमन्त्री सिंहसँगै धनुषा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बरुण सिंह पनि थिए । उनको टोलीले नदीजन्य पदार्थ ओसारपसारमा संलग्न १३ ट्याक्टर, दुईवटा बकेट र पाँच जना चालकलाई नियन्त्रणमा लिइएको छ ।

रातको समयमा पनि कमला खोलाको वनक्षेत्र र सामुदायिक वन क्षेत्रमा अवैध तथा अनुचितढंगले ढुंगाा–गिट्टी र बालुवा उत्खनन भइरहेको गुनासो आएपछि मुख्यमन्त्री सिंह धनुषाका सुरक्षा अधिकारीसहित बुधबार राति १२ बजेदेखि ३ बजेसम्म त्यस क्षेत्रमा खटिएका हुन् ।

मुख्यमन्त्री सिँहले विधि, प्रक्रिया र मापदण्डविपरीत प्राकृतिक स्रोतको उत्खनन् तथा जथाभाबी दोहनबाट राज्यको सम्पत्ति हानीनोक्सानी भएको तथा विपत् निम्तिँदै आएकाले त्यसविरुद्ध आफूले अनुगमन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्