१८ माघ,काठमाडौं। भ्याली पब्लिक र फेरिल्यान्डले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । भ्याली पब्लिक जुनियर ब्वाइज तथा फेरिल्यान्ड जुनियर गल्र्समा च्याम्पियन बने ।
सामाखुशीस्थित आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले पारामाउन्ट एकेडेमीलाई ४५–२६ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा दिपेश यादवले १५ अंक योगदान गरे ।
जुनियर गल्र्सको उपाधि भिडन्तमा सन्दिपा राईको १० अंक सहयोगमा फेरिल्यान्डले भ्याली पब्लिकलाई १९–१२ ले हरायो । २ वर्षदेखि बास्केटबल खेल्न सुरु गरेको फेरिल्यान्डको यो समग्रमा दोश्रो उपाधि हो । फुल कोर्टमा भने पहिलो उपाधि हो । यसअघि फेरिल्यान्डले साइपाल थ्री बाइ थ्री बास्केटबलको उपाधि जितेको फेरिल्यान्डका प्रशिक्षक नारायण खवासले जनाएका छन् ।
जुनियर ब्वाइजमा भ्याली पब्लिकका अशोक दरी तथा जुनियर गल्र्समा फेरिल्यान्डकी सन्दिपा राई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा पारामाउन्टका सुशान थापा र जुनियर गल्र्समा भ्याली पब्लिककी सपना गिरी उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर ब्वाइजमा ज्ञान संस्कारका विकल्पराज भण्डारी र जुनियर गल्र्समा ज्ञान संस्कारकै सान्भी श्रेष्ठ सर्वाधिक स्कोरकर्ता बने ।
जुनियर ब्वाइजमा ह्वाइट माउन्टेन तथा जुनियर गल्र्समा एन्जल्स हार्ट नेसनल स्कुल उदीयमान टिम बने । जुनियर ब्वाइजमा न्युटन तथा जुनियर गल्र्समा सत्यसाई शिक्षा सदनले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, ज्ञान संस्कारकी प्रिन्सिपल निलम बानिया बडूलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा प्रतियोगिता संयोजक पूर्ण न्यौपानेलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । माघ ११ गतेदेखि सुरु प्रतियोगिताको जुनियर ब्वाइजमा २४ तथा जुनियर गल्र्समा १६ टिम सहभागी थिए ।