समाचार

युवा संघमा ९ वर्षमा ९ अध्यक्षः समानान्तर कमिटी गठन गर्ने तयारी

४ माघ २०७८, मंगलवार ०१:४५
युवा संघमा ९ वर्षमा ९ अध्यक्षः समानान्तर कमिटी गठन गर्ने तयारी

४ माघ,काठमाडौँ । नवौं महाधिवेशन गर्ने तयारी रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र समानान्तर कमिटी गठन गर्ने तयारी भएको छ।

पुस २८ र २९ गते पोखरामा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति असन्तुष्ट रहेका युवा संघका उपाध्यक्षलगायतका पादधिकारीले समानान्तर कमिटी बनाउने तयारी गरेका हुन्।

युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी ढंगबाट आयोजक कमिटी बनाएका कारण सचिवालय गठनलगायतका विषयमा असन्तुष्ट रहेका नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निर्णय नसच्याए बस्नेतविरुद्ध समानान्तर आयोजक कमिटी बनाउने जानकारी गराइसकेका छन्।

उपाध्यक्षहरू अमित लामा, रोशन वस्नेत, उर्मिला सुनुवार, विष्णुप्रसाद घिमिरे(उज्वल), तिरण गौतम, रवीन थापा, कुमार हुमागाइँ, उपमहासचिव प्रकाश गौतम, राजन थापा, शिवचन्द्र सिंह, सुमित्रा बोगटी, बेगबहादुर पाण्डे, मिलन सिंह, राकेश लामालगायत तीन दर्जन नेताहरूले पोखरामा भएको बैठक बहिस्कार गरेर उनीहरूले पार्टी अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, संगठन विभाग प्रमुख खगराज अधिकारी, मोर्चा जन संगठन प्रमुख भानुभक्त ढकाललाई लिखित उजुरीसमेत दिइसकेका छन्।

‘पोखरामा भएको सचिवालय बैठकमा कोरम पुगेकै थिएन, त्यहाँ हामीले संगठनको विधि पद्धति र निर्णय प्रक्रियाबारे कुरा उठाएपपछि हामीलाई छलेर बैठक सकिएको र निर्णय भएको कुरा सुनाइयो जो बैठकबाट निर्णय भएको थिएन कुनै एउटा होटलमा बसेर दुई–तीन जनाले निर्णय गरेका थिए,’ उपाध्यक्ष रोशन बस्नेतले भने। सो असन्तुष्टिपछि युवा संघका नेताहरूले युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी गरेको आरोप लगाउदै पार्टीका नेताहरूलाई ध्यानकर्षण गराएका थिए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्