काठमाडौँ। नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डे ज्यूको प्रमुख आतिथ्यतामा “सांस्कृतिक संस्थान विशेष समारोह तथा सम्मान कार्यक्रम २०८१” सभ्य-भव्य रूपमा सम्पन्न भएको छ ।
मिति २०८१ साल माघ ८ गते मंगलबारका दिन सांस्कृतिक संस्थानको आयोजनामा संस्थानकै मेगा प्रेक्षालयमा सो कार्यक्रम सम्पन्न भएको हो । सांस्कृति संस्थानका महाप्रबन्धक श्री किरण बाबु पुन ज्यूको १ वर्षे कार्यकाल पुरा भएको अवसरमा आयोजित सो समारोहमा मिति २०८० माघ ८ गते देखि मिति २०८१ माघ ८ गते सम्म एक वर्षको समयमा गरिएका प्रमुख उपलब्धिहरू समावेश गरिएको बुलेटिन पत्रिका “नेपाली संस्कृति” वर्ष २५, अंक २ प्रमुख अतिथिको हात बाट विमोचन गरिएको छ ।
सोही कार्यक्रम मार्फत निकायगत रूपमा सिर्जनशील क्रियाकलापका लागि अपरिहार्य रहेको लोकगीत, लोकधुन, लोकनाट्य पार्श्व श्रव्य सामग्री तथा समग्र नेपाली संस्कृति सम्बन्धी श्रव्य सामग्री उत्पादन र व्यावसायिक रूपमा उत्पादनमैत्री क्रियाकलाप गर्ने उद्देश्यका साथ संस्थानको नवनिर्मित सांस्कृतिक संस्थान रेकर्डिङ स्टुडियोको पनि प्रमुख अतिथि माननीय मन्त्री ज्यू बाट समुद्घाटन सु-सम्पन्न गरिएको छ ।
कार्यक्रममा महाप्रबन्धक श्री किरण बाबु पुन ज्यूले विशेष सम्बोधन गर्नु हुँदै आफ्नो १ वर्षे कार्यकालको समीक्षा गर्दै आफूले भोगेका कुराहरू सँगै प्रमुख उपलब्धि बारे बताउँदै गर्दा उहाँले प्रस्तुत गरेको गजलरुपी भावनाले उपस्थित जनमनलाई भावुक बनाएको थियो । सम्बोधनमा सांस्कृतिक संस्थानका समस्या, चुनौती, सम्भावना तथा दीर्घकालीन सोच बारे प्रष्ट पारिएको थियो । महाप्रबन्धक ज्यूकै १ वर्षे कार्यकालको अवसरमा आयोजित कार्यक्रम भएकोले विशेष सम्बोधन यस्तो रहेको थियो ।
धन्यवाद कार्यक्रम सञ्चालक ज्यू, कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री बद्री प्रसाद पाण्डे ज्यू, विशिष्ट अतिथि मा. कुलपति श्री नारदमणी हार्तम्छाली ज्यू, तिनवटै प्रतिष्ठानका सदस्य सचिव ज्यू, नेपाल सरकारका श्रीमान् सचिव ज्यू, तिन वटै प्रतिष्ठानका प्राज्ञज्यूहरू, नेपाल सरकारका सहसचिव तथा उपसचिवज्यूहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू, संस्थानका सम्पूर्ण कर्मचारीज्यूहरू तथा उपस्थित सम्पूर्ण जनमनहरुमा व्यक्तिगत तथा सांस्कृतिक संस्थानको तर्फबाट नमस्कार । प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण आदरणीय व्यक्तित्वहरुमा कार्यव्यस्तताका बाबजुद पनि आफ्नो मूल्यवान समय दिई पाल्नु भएकोमा व्यक्तिगत तथा सांस्कृतिक संस्थानको तर्फबाट सर्वप्रथम त हार्दिक स्वागत सहित आभार प्रकट गर्दछु ।
मेरो कार्यकालको सारलाई म एउटा भावना मार्फत पोख्न आदरणीय अभिभावक माननीय मन्त्री ज्यू सँग अनुमति चाहन्छु:-
मैले संस्कृति बचाउनु पर्छ भन्दा, बेच्नु पर्छ भन्नेहरू भेटें
मैले सुशासनको दियो बाल्दा, निभाउन तैनाथ बन्नेहरू भेटें
मृत्युशैयाका संस्थान र कर्मचारीको हितमा नीति बनाउँदा,
षड्यन्त्र अनि प्रपञ्चका चक्रव्यूह रच्दै जरो खन्नेहरू भेटें
संस्कृति भन्नु नेपाल आमा, राष्ट्रियताको दृष्टिबाट हेर्न सके,
तर संस्कृतिलाई उपभोग्य साधनको रूपमा गन्नेहरू भेटें
ओ एण्ड एम, विनियमावली, ऋण, उपदान जस्ता समस्या,
कहिले पाउँछु भन्न समाधान गरिदिने विद्वान् धन्नेहरू भेटें
१ वर्षे कार्यकालमा मैले देखेको, भोगेको सारमा भन्नु पर्दा मैले के बुझेँ भने केही गर्न कठोर बन्नै पर्दो रहेछ । तर कठोरपनबाट निष्पत्ति हुने जुन राम्रो पक्ष छ, त्यो हामी देख्दैनौँ मात्रै कठोरपनलाई देख्छौँ । किनकी हामीमा यस्तो संस्कृतिको विकास भएको छ, कि हामी नकारात्मक चिन्तनमा नै अभ्यस्त भएका छौँ जसबाट उन्मुक्ति हुन हामी चाहदैँनौं । वास्तवमा संस्कृति जस्तो संवेदनशील विषयमा गहन चिन्तन राख्ने जो कोही पनि आज जुन ठाउँमा म सुशासनको लागि कठोर भएको छु त्यो अपरिहार्य छ । हर मानवका लागि संस्कृति सम्प्रेषण गर्ने पहिलो पाठशाला आमा हुन्, आमा नै संस्कृति हुन् जसले आफ्नो सन्ततिलाई सभ्य संस्कृति दिन्छिन्, यसर्थ राष्ट्रियताको दृष्टिकोणबाट हेर्ने हो भने संस्कृति भन्नु नेपाल आमा हुन् किनकी हरेक राष्ट्रको अस्तित्व संस्कृतिमै निहित हुन्छ । यो संवेदनशील विषयको वकालत गर्ने निकायको नेतृत्व गर्दै गर्दा संस्कृतिको रक्षार्थ कठोर बन्नु मेरो कर्म हो जिम्मेवारी हो ।