समाचार

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

३ माघ २०७८, सोमबार १०:२४
प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

३ माघ, जनकपुर । प्रदेश २ को राजधानी जनकपुरधाम तय भएको छ । आज प्रदेशसभा सचिवालयमा भएको निर्वाचनबाट जनकपुरधाम स्थायी राजधानी तय भएको हो ।

प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत परेको हो ।

यो प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केबर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुरधाम रहने उल्लेख छ ।

तर, पुस १३ गतेको प्रदेश सभा बैठकले नाम र राजधानीको विषय टुंगो लगाउन सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरेको थियो। प्रदेश सभाको त्यस दिनको बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको थियो। समिति सभापतिमा सभामुख यादव र उपसभापतिमा उपसभामुख उपमा कुमारी देव थिए। त्यस्तै, सदस्यहरुमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह (कमल), जगतप्रसाद यादव, दीलिपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरिताकुमारी साह थिए।

प्रतिक्रिया दिनुहोस्