समाचार

देशभर १४ हजार सक्रिय संक्रमित

२९ पुष २०७८, बिहीबार २३:४५
देशभर १४ हजार सक्रिय संक्रमित

३० पुस, काठमाडौं । नेपालमा हालसम्म सक्रिय संक्रमित संख्या बढेर १४ हजार ३ सय ४० पुगेको छ । पछिल्ला केही दिनयता संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको हो । सक्रिय संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितको संख्या पनि बढेको छ ।

हाल आईसीयूमा १ सय १० र भेन्टिलेटरमा २५ जना उपचाररत छन् । बिहीबार मात्रै ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो समय कोरोना संक्रमण दर दैनिक बढिरहे पनि सरकारले भने परीक्षणको दायर भने बढाउन सकेको देखिँदैन । हाल कोरोना परीक्षण दर पुरानै दरमा चलिरहेको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन आएसँगै सरकारले परीक्षणको दायर बढाउनुपर्ने थियो । तर, अहिले पुरानै अवस्थामा सीमित परीक्षण गर्दा पनि संक्रमण दर बढेको देखिन्छ । बिहीबार १५ हजार ८१ जनाको नमुना परीक्षण गराउँदा एकै दिन ३ हजार ५ सय ५३ जनामा संक्रमण देखिएको हो ।

विज्ञहरूले भने कोरोना संक्रमण बढिरहेको अवस्थामा परीक्षण दायरा पनि बढाउनुपर्ने बताइरहेका छन् । बिहीबारको कोरोनाको नमुना परीक्षणमा सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति धेरै प्रभावित भएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो उमेर समूहका व्यक्ति बढी प्रभावित भएको देखाएको छ ।

२१ देखि ३० वर्ष उमेर समूहका ९ सय ६० जनामा संक्रमण देखिएको छ । त्यसपछि ३१ देखि ४० वर्ष उमेर समूहका ७ सय ३६ जनालाई पोजेटिभ देखिएको छ । ४१ देखि ५० वर्ष उमेर समूहका ४ सय ११ जना छन्, ५१ देखि ६० वर्ष उमेर समूहका २ सय ७२ जना संक्रमित भएका छन् । त्यस्तै, ६१ देखि ७० वर्ष उमेर समूहका १ सय ४४ जनामा संक्रमण देखिएको छ ।

७१ देखि ८० वर्ष उमेर समूहका ५१ जनामा संक्रमण पुष्टि भएको छ । ८० वर्षभन्दा माथिका १५ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । १० वर्षमुनिका ६४ जना छन् । ११ देखि २० वर्ष उमेर समूहका २ सय ६३ जनालाई पोजेटिभ देखिएको छ भने ६ जनाको उमेर नखुलेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी दैनिकीबाट

प्रतिक्रिया दिनुहोस्