मुख्य समाचार

रवि लामिछानेका विषयमा आज जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस हुँदै

२९ पुष २०८१, सोमबार ०९:१७
रवि लामिछानेका विषयमा आज जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस हुँदै

२९ पुस, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका विषयमा जिल्ला अदालत काठमाडौँमा आज थुनछेक बहस हुँदै छ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको प्रतिवाद गर्न लामिछाने आइतबार बिहानै जिल्ला अदालत पुगेका थिए। त्यही दिन दिउँसो न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान सकिएको थियो।

आइतबार लामिछानेको बयान लम्बिएपछि थुनछेक बहस हुन सकेन। त्यसपछि न्यायाधीश अधिकारीले लामिछानेलाई प्रहरीको जिम्मा लगाएको थियो। उनी काठमाडौं प्रहरीको हिरासतमा छ। प्रहरीले नै उनलाई थुनछेक बहसमा अदालत उपस्थित गराउनेछ।

आइतबार थुनछेक बहस नहुने भएपछि रवि लामिछाने र उनका वकिलहरूले प्रतिवादी आफै अदालतमा हाजिर हुन आएकाले परिवारको जिम्मा लगाउन माग गरेका थिए।

न्यायाधीश अधिकारीले थुनछेक नभएका कारण मुद्दा हेर्दाहेर्दैमा परेको र हेर्दाहेर्दैमा परेका मुद्दाका प्रतिवादीलाई परिवारको जिम्मामा छाड्ने नजीर नरहेको बताउँदै लामिछानेलाई प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएका हुन्।

पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर पुस २५ गते थुनामुक्त भएपछि २६ गते साँझ काठमाडौँ आइपुगेका रवि आइतबार अदालतमा आफैँ उपस्थित भएका हुन्।

रविविरुद्ध काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बहस गर्ने तयारी छ भने रविका पक्षबाट पूर्वन्यायाधिवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन्।

स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

प्रतिक्रिया दिनुहोस्