समाचार

तलब नपाएपछि राजदूतले पद त्याग गरे

२९ पुष २०७८, बिहीबार ०२:०६
तलब नपाएपछि राजदूतले पद त्याग गरे

काठमाडौँ । चीनका लागि अफगानिस्तानका राजदूत जाविद अहमद काइमले महिनौंदेखि तलब नपाएपछि राजदुत पद छोडेका छन् । गत हप्ता राजीनामा दिएका काइमले बेइजिङ छोड्दै दुताबासको सम्पति र बैंक खाता बारेमा सार्बजनिक रुपमा जानकारी गराएका छन् ।

अफगानिस्तानमा तालिबान सत्तामा आएदेखि नै जाविद अहमद काइम र बेइजिङस्थित अफगान दूतावासका अन्य कूटनीतिज्ञहरूले तलब पाएका थिएनन् । क्यामले सोमबार ट्विटरमा हस्तान्तरण पत्र पोस्ट गर्दै दुताबासको सम्पत्तिको जानकारी दिएका छन् ।

काइमले यस पत्रमा धेरै कूटनीतिज्ञहरूले बेइजिङस्थित अफगान दूतावास छोडिसकेको र गत भदौदेखि तलब नपाएको उल्लेख गरेका छन् । क्यामले ट्वीटरमा लेखेका छन्, ‘धेरै कारण छन्। व्यक्तिगत र व्यावसायिक, तर म तिनीहरूलाई यहाँ उल्लेख गर्न चाहन्न।

चीनको सिमानाको सानो भाग अफगानिस्तानसँग जोडिएको छ । क्यामले आफ्नो हस्तान्तरण पत्रमा लेखेका छन्- ‘मैले धेरै पटक फोनमा कुरा गरेको छु । म जनवरी २ गतेदेखि राजदूत पद त्याग गर्दैछु । अवस्था र प्रतिबन्ध हेर्दा कहिले अफिस आउन सक्छु थाहा छैन । यसैले मैले हस्तान्तरण पत्र पोस्ट गर्दैछु ताकि अर्को राजदूत बिना कुनै जटिलता बेइजिङस्थित अफगानिस्तान दूतावासमा आउन सकून् ।

उनले भनेका छन्- ‘हामीले बेइजिङमा रहेको अफगान मिसनलाई राजनीतिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, व्यापार, सैन्य र प्रशासनिक खण्डमा विभाजन गरेका छौं । दूतावासमा सबै खण्डका लागि छुट्टाछुट्टै कोठाहरू छन् । विगतका कामका सबै कागजात कार्यालयमा छन् । यसबाहेक हालै के भयो र अब के हुनुपर्दछ भन्ने कागजात पनि कार्यालयमा छन् । यति हुँदाहुँदै पनि कुनै अन्योल भएमा म जुम कलमा उपलब्ध हुनेछु ।

उनले लेखेका छन्- ‘हामीले विगत ६ महिनादेखि तलब पाएका थिएनौँ । यस अवधिमा हामीले आर्थिक संकट समाधानका लागि कूटनीतिज्ञहरूबीच एउटा समिति बनाएका थियौं । जीवनयापन र अन्य खर्चका लागि बैंकमा पैसा थियो । त्यो पैसा हामीले त्यतिबेला प्रयोग गरेका थियौं । हामीले कर्मचारीलाई तलब दिन नसकेर बेइजिङमा खर्च गर्नका लागि केही पैसा दियौं ।

दुताबासको खातामा अहिले करिब एक लाख डलर बाँकी छ । अरु खातामा पनि पैसा छ । म एउटा छुट्टै पाना पठाउँदै छु, जसमा खाताका सबै विवरणहरू हुनेछन् । दूतावासमा पाँचवटा गाडी छन् । सबै कारहरू मुख्य भवनको अगाडि पार्किङमा छन्। कारको चाबी अफिसमा छ। तीमध्ये दुईवटा पुराना गाडी छन् र मर्मत गर्नुपर्ने अवस्था छ । मैले यही महिनाको जनवरी २२ गतेसम्मका स्थानीय कर्मचारीको तलब तिरेको छु र अहिले काम सकिएको छ ।’

उनले अगाडी लेखेका छन्- ‘अहिले रिसेप्शनमा एउटा मात्र कर्मचारी छ ताकि याँहा कोहि आउँदा कसैलाई भेट्टाउन सकुन । मिस जिओ ली रिसेप्शनमा रहने छिन् । मैले दूतावासको कार्यालय र घरहरूमा ताला लगाएको छु । रिसेप्शन मात्र खुला छ । मैले चाबी बेइजिङस्थित कतारको दुताबासमा छोडेको छु । यहाँ सात पृष्ठको सम्पत्तिको सूची पनि तयार पारेको छु र काबुलमा पठाउँछु, यसबारे चिनियाँ विदेश मन्त्रालयलाई पनि जानकारी गराएको छु ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार अफगानिस्तानको विदेश मन्त्रालयले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर, मंगलबार चिनियाँ विदेश मन्त्रालयले भने दैनिक पत्रकार सम्मेलनमा काइमले व्यक्तिगत कारणले चीन छाडेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले काइमले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध सुधार गर्ने प्रयासको प्रशंसा गर्ने बताएका छन् । बिबिसि

प्रतिक्रिया दिनुहोस्