६ पुस,पोखरा। पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तीन ओटा मुद्दा दर्ता भएको छ ।
सरकारी वकिल कार्यालय कास्कीले प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा पेश गरेको हो। जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनीमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको छ।
सहकारी ठगीमा लामिछाने माथीको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै गत पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो। चार दिनको म्याद गत शुक्रबार सकिए पनि शनिबार सार्वजनिक बिदा भएकाले आज अदालतमा मुद्दा दर्ता गरिएकाे हाे।