४ पुस, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरि त्यहाँ उत्पादन नहुने सामान आयात गरि औद्योगिक वातावरण प्रवद्र्धन र सर्वसाधारणलाई सुलभ रुपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो ।
आयातलाई नै केन्द्रित गरि स्थापना भएको संस्थासंगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासंघको विश्वास छ । यसबाट नेपाल र दक्षिण कोरियाबीचको व्यापार घाटा कम हुने विश्वास छ । हाल दुइ देश बीचको व्यापार घाटा करिब ७ अर्ब रुपैया छ ।
नेपालबाट हाल फेल्ट, गलैचा, धागो लगायतका परम्परागत सामान बढि गैरहेको सन्दर्भमा कोइमासंगको सहकार्यबाट औद्योगिक कच्चा पदार्थ एवं अन्य समानका लागि पनि बजार खोज्न सकिने महासंघको विश्वास छ ।
नेपाल कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष र समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र कोरियाबीच आर्थिक सम्बन्ध सुदृढ गर्न सकिने अपार सम्भावना रहेको वताए ।