समाचार

प्रचण्ड र विप्लवसँग एकता हुन सक्दैन: मोहन वैद्य

२७ पुष २०७८, मंगलवार १५:२१
प्रचण्ड र विप्लवसँग एकता हुन सक्दैन: मोहन वैद्य

२७ पुस,काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्य ‘किरण’ले तत्काल कसैसँग पनि पार्टी एकताको सम्भावना नभएको प्रष्ट पारेका छन्।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग भने एकता सम्भव नभएको बताएका हुन् ।

उनले भने, ‘उनीहरुले पूर्व माओवादीहरुसँग पार्टी एकता हुनसक्छ भनेर लगातार भन्नुभएको छ। तर हाम्रो पार्टीसँग सम्भव छैन। नेकपा (क्रान्तिकारी माओवादी)सँग सम्भव छैन। हामीले पुरानो राज्यसत्ता, संसदीय व्यवस्था यसलाई स्वीकार गर्न सक्दैन भनिराखेका छौँ। प्रचण्डजीको पुरै जोड के छ भने– यो संविधानको असली संरक्षक हामी हौँ, संसदीय व्यवस्थाको असली संरक्षक हामी हौँ भन्ने हिसाबले उहाँहरु गइरहनुभएको छ। त्यसकारणले उहाँहरुसँग एकताको सम्भावना छैन।’

विप्लव र मोहनविक्रम सिंह नेतृत्वको पार्टीसँग एकता प्रयास गरेको, तर त्यो पनि सम्भव नभएको बताए । छिट्टै क्रान्ति गर्नुपर्छ भनेर विप्लवहरू अलग भएर गएको तर, शान्तिपूर्ण राजनीति गर्ने भनेर तीनबुँदेमा आएको उनले स्मरण गरे ।

त्यसैगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भएपनि वर्तमान सरकार केपी शर्मा ओली नेतृत्वको सरकार जति पनि बोल्न नसकेको उनले बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो क्षेत्रमा बाटो विस्तारको काम जारी छ भनिराखेको भएपनि नेपाल सरकार भने चुप लागेर बसेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्