२७ पुस, काठमाडौं । यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ ।
बैठकपछि आवश्यक निर्णय गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । कोभिड–१९ महामारीको नयाँ स्वरूप ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणका लागि तीनवटै जिल्लाको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (डीसीसीएसी)ले सम्बद्ध स्वास्थ्य अधिकारी तथा सरोकारवाला निकायसँग छुट्टाछुट्टै छलफल गरेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवाहरू ‘आलोपालो’ प्रदान गर्ने विषयमा छलफल भइरहेको जानकारी प्रजिअ रिजालले दिए।
त्यस्तै ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसीसी) र गृह मन्त्रालयबाट जारी निर्देशन कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यस विषयमा आन्तरिक छलफल सुरु भएको बताए । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारीसँगै चरणबद्ध छलफल भइरहेको बताउँछन् । तत्काललाई मास्क, सेनिटाइजरको प्रयोग, अनावश्यक भीडभाड नियन्त्रण र सचेतनासँगै खोपमा जोड दिइएको छ । गोरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले खबर लेखेका छन ।