७ मंसिर, काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेले आज राजधानी काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । जागरण सभा नाम दिइएको प्रदर्शन दिउँसो साढे १२ बजे काठमाडौँको दरबारमार्गमा हुन लागेको छ ।
भद्रकालीबाट शुरू हुने जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ ।
काठमाडौं, ललितपुर र भक्तपुर ३ जिल्लाको संयुक्त आयोजनामा हुने सभामा १ लाख नेता कार्यकर्ता उतार्ने दाबी एमालेको छ । जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईले अराजकताविरुद्ध र स्थिरताको पक्षमा जनमत निर्माणका लागि जागरण सभा गर्न लागेको जानकारी दिए ।
एमालेले आफ्नो पार्टी र नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै अफवाह फैलाइरहेकाहरुलाई जवाफ दिन यो सभा गरेको बताउँदै आएको छ ।