५ मंसिर, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।
आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा मनोनयन दर्ता गरेकामध्ये ३१ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।
बुधबार राति आयोगले एक विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो । आयोगका अनुसार जिल्ला समन्वय समति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षका ४४ वटा रिक्त पदमा विभिन्न राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र गरी ४१० जनाको उम्मेदवारी परेको थियो ।
यस्तै आयोगका अनुसार निर्वाचन हुने तीन स्थानमा ३ जना निर्विरोध निर्वाचित भएका छन् । ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।
यस्तै रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएको आयोगको विज्ञप्तिमा जनाएको छ ।