२४ कार्तिक,काठमाडौं। आउँदो मंसिर १६ मा हुने उपनिर्वाचनमा रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र वडाध्यक्षमा प्रतिस्पर्धा गर्न नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवार टुंग्याएका छन् ।
माओवादी रुकुम जिल्ला संयोजक कुमारी बरालले माओवादी केन्द्रबाट ज्ञानदेवी पुनलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएकी छन् । यहाँ यसअघि पनि माओवादीले नै जितेको थियो ।
पुथा उत्तरगंगामा यसअघि एमालेले केशकुमारी तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेपाली कांग्रेसका जिल्ला उपसभापति भीमबहादुर खड्काले आगामी सोमबारभित्र उम्मेदवारको टुङ्गो लगाउने जानकारी दिए ।
यस्तै सोही गाउँ पालिकाको २ नम्बर वडाध्यक्षमा माओवादी केन्द्रले जगत घर्ती मगर र एमालेले जीवन रोका मगरलाई वडाध्यक्षको उम्मेदवार बनाउने भएको छ ।
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवार मनोनयन गर्नुपर्ने समय तालिका रहेको छ ।