राजनीति

प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासंघद्वारा ४० बुँदे सुझाव हस्तान्तरण

१२ कार्तिक २०८१, सोमबार १६:३४
प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासंघद्वारा ४० बुँदे सुझाव हस्तान्तरण

१२ कार्तिक,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासंघले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल’ समेटेर ४० पृष्ठे अवधारणा पत्र बुझाएको छ ।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर एमालेको जनसंगठन समेत रहेको महासंघका संयोजक भगीरथ सापकोटासहितको प्रतिनिधिमण्डलले ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार ः सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ को लक्ष्य लिइएको सुझावपत्र बुझाएको हो ।

महासंघले गत भदौ ७ गते निजी क्षेत्रका समस्या र समाधानका विषयमा आयोजना गरेको छलफल कार्यक्रमबाट आएका निचोड र उद्योगी व्यवसायीले भोगिरहेका समस्या र समाधानका उपायलाई अवधारणा पत्रमा समावेश गरेको छ ।

सुझाव पत्रमा अहिले देशको अर्थतन्त्रका साथै उद्योगी व्यवसायीहरू जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल नीतिगत सुधार गर्नुपर्नेमा जोड दिइएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सरकारले अर्थतन्त्र सुधारका लागि योजनाबद्ध काम गरिरहेको र उद्योगी व्यवसायीले उत्पादन र उत्पादकत्व वृद्धिमा आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताए । उनले संगठनका अगुवाको व्यवसाय र उत्पादन तथा व्यवहार आदर्शयुक्त हुनुपर्ने पनि सुझाव दिए ।

सो क्रममा एमालेका जनसंगठन संयन्त्र इन्चार्ज भानुभक्त ढकाल, सहइञ्चार्ज रचना खड्का, प्रधानमन्त्रीका आर्थिक मामिला तथा विकास सल्लाहकार डा युवराज खतिवडालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्