९ कार्तिक,काठमाडौँ। सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाको काठमाडौं केन्द्रीत प्रदर्शन माइतीघरमा सुरु भएको छ ।
यसअघि पोखरामा आन्दोलनमा उत्रिएका रास्वपाका नेता तथा कार्यकर्ताहरु हिजोबाट काठमाडौंकेन्द्रित भएका छन् । पोखरामा आन्दोलन उठ्न नसकेपछि रास्वपाले रणनीति परिवर्तन गरेर आजबाट काठमाडौंमा प्रदर्शन सुरु गरेको हो ।
लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत सात दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा शुक्रबारदेखि भने काठमाडौँमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले जानकारी दिए ।
पोखरामा रास्वपाले प्रदर्शन गरेपनि जनस्तरबाट समर्थन नदेखिएको टिप्पणी हुँदै आएको थियो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत शुक्रबार प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो । लगत्तै रास्वपाले पूर्वाग्रही ढंगले सभापतिलाई पक्राउ गरिएको भन्दै विरोध गर्दै आएको छ ।