९ कार्तिक,काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शुक्रबार) देखि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने भएको छ ।
पूर्व गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रीत आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको हो ।
सहकारी ठगी र संगठित अपराधमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले शुक्रबार पनि आन्दोलन गर्ने भएको हो ।
गत शुक्रबार सभापति लामिछाने पक्राउ परेदेखि रास्वपा निरन्तर आन्दोलनमा छ । अहिले नेताहरू आन्दोलनको स्वरूप कस्तो गर्ने भन्ने विषयमा छलफलमा रहेको पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनका अनुसार पोखरा र काठमाडौंमा कस्तो किसिमको आन्दोलन गर्ने भनेर जुम मिटिङ पनि भइरहेको छ ।
काठमाडौंमा अहिले रास्वपा उपसभापति स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू सुमना क्षेष्ठ, शिशिर खनाल लगायतका अन्य केन्द्रीय नेताहरू आन्दोलनमा खटिएका छन् ।
पोखरामा भने उपसभापति डीपी अर्याल, कोषाध्यक्ष, लिमा अधिकारी सह कोषाध्यक्ष दीपक बोहोरा, सांसदहरू विनीता कठायत, तोसिमा कार्की र सोभिता गौतम छन् ।