समाचार

माघ १५ गते सम्म देशभरका विद्यालय बन्द

२५ पुष २०७८, आईतवार १४:२६
माघ १५ गते सम्म देशभरका विद्यालय बन्द

२५ पुस, काठमाडौं । कोभिड १९ व्यवस्थापन समितिको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोना संक्रमणको ग्राफ उकालो लागेपछि समितिको आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।

सीसीएमसी प्रवक्ता सुनिता नेपालले नेपाल प्रेसलाई यस्तो जानकारी दिएकी हुन् । भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको जानकारी उनले दिइन् ।

त्यसैगरी, आगामी माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना भ्याक्सिन लगाएको कार्ड देखाउनु पर्ने भएको छ। सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् ।

हिउँदे बिदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समूहका खोपको पूर्ण मात्रा नलगाएका शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने सिसिएमसीको निर्णय छ ।

परीक्षाको तालिका सार्वजनिक भैसकेका शिक्षण संस्थाको हकमा सामाजिक दूरी कायम गर्दै परीक्षा संचालन गर्ने निर्णय पनि भएको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ यात्रुको चाप नहुने गरी उडान तालिका बनाउन पर्यटन मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि भएको छ

प्रतिक्रिया दिनुहोस्