समाचार

ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स

४ कार्तिक २०८१, आईतवार ०८:५१
ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स

४ कात्तिक,काठमाडौं। आजदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स आउने भएको छ।

यसअघि कागजको चिट काटेपछि भुक्तानीका लागि अरू प्रक्रियामा जानुपर्ने अवस्था रहेकोमा अब ट्राफिक प्रहरीले डिजिटल चिट दिने र जरीमाना अनलाइनमार्फत त्यहीँ भुक्तानी गर्न सक्ने व्यवस्था भएको हो ।

नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था गरिएसँगै जरीमाना तिर्दा हुँदै आएको झन्झट अन्त्य हुने प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए।

नौ वर्षदेखि माग अनुसार कार्ड छपाइ हुन नसकेर वर्षौं कुर्नुपर्ने समस्या भएपछि सरकारले तत्कालका लागि आजदेखि नागरिक एपमार्फत मोबाइलमै डिजिटल लाइसेन्स पठाउने भएको हो।आइतबार औपचारिक कार्यक्रम गरी बागमती प्रदेशमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण गर्न लागिएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्नो फेसबुकमार्फत अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका थिए। लाइसेन्स छपाइ नहुँदा परेको समस्याको अन्त्य भएको चर्चा गर्दै उनले लेखेका थिए। ‘भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुने छ । कुनै पनि कामका लागि लाइन बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौँ । राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्ने छ भन्ने हामीले आशा राखेका छौँ ।’

प्रधानमन्त्री ओलीले सवारी नियम उल्लङ्घनमा जरिबाना तिर्दा हुने झन्झट पनि हटेको बताएका छन्। उनले लेखेका छन्, ‘नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने छ । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ।’

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पाँच महिनादेखि नागरिक एपमा लाइसेन्स वितरणको परीक्षण गर्दै आएको थियो। परीक्षणको सफलतापछि सबै संरचनालाई डिजिटल बनाएर सुरु गर्न लागिएको मन्त्रालयका प्रदेश सचिव बलराम निरौलाले बताए।

यस्तै चालक अनुमतिका लागि ‘ट्रायल’ पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । यसबाट लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ । यस्तै नागरिक एप चलाउनेले अबदेखि लाइसेन्स बोक्नुपर्ने छैन । नागरिक एपमा रहने चालक अनुमतिपत्रमा ‘क्यूआर कोड’ देखाउने व्यवस्था गरिएको छ ।

ट्राफिक प्रहरीले ‘इचलान डिजिटल’ एपमार्फत सडक नियम उल्लङ्घन गर्ने चालकको मोबाइलमा देखिने ‘क्यूआर कोड’ ‘स्क्यान’ गरेर कारबाहीको विवरण प्रविष्ट गर्नेछन् । लगत्तै नागरिक एपमा ट्राफिक नियम उल्लङ्घन कोलममा कसूर र जरीमाना रकमसहितको ‘डिजिटल चिट’ को विवरण र जरीमाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था छ । यसबाट चालकले तत्कालै ‘डिजिटल वालेट’ मार्फत जरीमाना रकम भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्