समाचार

जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार

३ कार्तिक २०८१, शनिबार १२:१४
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार

३ कात्तिक,बागलुङ। बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ।

गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको संख्या बढ्दै गएको हो। विसं १९७९ मा निर्माण भएको दरबारको जीर्णोद्वार गरेपछि चिटिक्क परेको छ।

टेउवाको मूर्तिकला र गाईघाट झरनाबीचमा रहेको दरबार पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ। दरबार परिसरमा तस्बीर खिच्ने, टिकटक बनाउने र मनोरञ्जन लिनेको भीड देखिन्छ।

एक सय दुई वर्ष पहिले निर्माण भएको दरबारलाई करिब रु ५० लाख खर्च गरेर जीर्णोद्वार गरिएको गलकोट नगरपालिका–५ का अध्यक्ष पवन हमालले बताए। दरबारको बारदली, झ्याल, ढोका, चौकोस, छानोलगायत भाग जीर्ण बनेपछि अघिल्लो वर्ष भदौदेखि जीर्णोद्वार सुरु गरेको उनले बताए। दरबार वरपर बगैँचा, पिङलगायत मनोरञ्जन गर्ने पार्क निर्माण गरिरहेको उनले बताए।

हमालका अनुसार दैनिक एक सय ५० बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन्। बिदाको दिन झण्डै पाँच सयको हाराहारीमा पर्यटक आउने गरेको उनले बताए। पहिलेदेखि नै आन्तरिक पर्यटक आउने गरे पनि अहिले ढोरपाटन, मुक्तिनाथ, रुकुमलगायत स्थानमा जाने बाह्य पर्यटकसमेत आउने गरेको अध्यक्ष हमालले जानकारी दिए। दरबारलाई संग्रहालयका रुपमा विकास गर्न थालिएको हमालले बताए। दरबारभित्र राजाहरुले प्रयोग गरेका हतियार, पोसाक, टेलिभिजन, सोफालगायतका सामग्री संग्रहित गर्न थालिएको छ।

उनले भने, ‘दरबार जीर्ण बनेको थियो, यो दरबारसँग इतिहास जोडिएको हुँदा यसलाई संरक्षण गर्नुपर्छ भन्ने हिसाबले अहिले जीर्णोद्वार गरेका छौँ, इतिहाससँगै दरबार पर्यटकका लागि आकर्षक गन्तव्य पनि बनेको छ, यहाँ बाह्रै महिना पर्यटक आउने गर्छन्, जीर्णोद्वार गर्दा पुरानो शैली र कलालाई बिगारेका छैनौँ, अहिले निकै सुन्दर बनेको छ, दिनदिनै दरबारमा आएर रमाउने, घुम्ने पर्यटक बढेका छन्, अहिले विदेशीको पनि चहलपहल हुन थालेको छ।’

सामाजिक सञ्जालमार्फत दरबारको प्रचारप्रसार भएपछि देशका विभिन्न जिल्लाबाट पर्यटक घुम्न आउने गरेका छन्। मध्यपहाडी लोकमार्गमा पर्ने हटिया बजारदेखि १० गाडीमा १० मिनेटमा दरबार पुग्न सकिने हुँदा रोल्पा, रुकुम र ढोरपाटन जाने पर्यटक यहाँ आउने गरेका छन्।

रुपन्देहीको देवदहबाट घुम्न आएका प्रेरणा शर्माले एक सय वर्ष पुरानो दरबार निकै आकर्षक रहेको बताए। सामाजिक सञ्जालमा दरबारको तस्बिर तथा भिडियो देखेको हुँदा बागलुङ कालिका दर्शन गर्न आएका बेला दरबारमा आएको शर्माले बताए।

‘दरबार पुरानो होला, भत्किएको होला भन्ने लागेको थियो, तर यहाँ आउँदा चिटिक्क परेको देखेँ, स्थानीयले संरक्षण गरेर राख्नुभएको रहेछ’, शर्माले भने, ‘यहाँको हावापानी पनि राम्रो, ठाउँ पनि सुन्दर लाग्यो, हामीहरु पारिवारिक घुमघाममा आएका थियौँ, दरबारमा आएपछि हजुरबुबा, हजुरआमा, बाबा, ममी सबै खुसी भएका छन्।’

प्रतिक्रिया दिनुहोस्